लन्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री एन्डी बर्न्हामले कार्यभार सम्हालेको एक सातापछि पहिलो विदेशी नेताका रूपमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई स्वागत गर्दै छन्। लन्डनले किभप्रति आफ्नो अटुट समर्थन रहेको सन्देश दिन यो भेटघाटको आयोजना गरेको हो।
प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका अनुसार दुवै नेताले बेलायती नौसेनाको बेस भ्रमण गरी युक्रेनी सैनिकलाई तालिम दिइरहेका दुवै देशका सैन्य कर्मचारीहरूसँग छलफल गर्ने कार्यक्रम छ। बर्न्हामले रसियाविरुद्धको युद्धमा युक्रेनलाई बेलायतको समर्थन निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।
भेटका क्रममा बेलायतले ‘स्टोन क्लॉक’ नामक नयाँ इलेक्ट्रोनिक ज्यामिङ प्रविधिको बौद्धिक अधिकार (इंटेलेक्चुअल प्रोपर्टी) युक्रेनलाई हस्तान्तरण गर्ने घोषणा गरेको छ। ट्याब्लेट कम्प्युटरको आकारमा रहेको र ड्रोनमा जडान गर्न सकिने यो प्रविधिले उडानका क्रममा रुसी हवाई रक्षा प्रणालीलाई झुक्याउन र ट्र्याकिङ रोक्न मद्दत पुर्याउँछ।
डाउनिङ स्ट्रिटका अनुसार गत वर्ष जनवरीमा दुई देशबीच भएको १०० वर्षे साझेदारी सम्झौताअन्तर्गत यो प्रविधि विकास गरिएको हो। बेलायतले यसअघि नै हजारौँको सङ्ख्यामा यस्ता ज्यामरहरू युक्रेनलाई उपलब्ध गराइसकेको छ।
भ्रमणका क्रममा बर्न्हाम र जेलेन्स्कीले विगत तीन सातादेखि बेलायतमा सामुद्रिक सुरक्षा तालिममा सहभागी करिब २०० युक्रेनी सैनिकहरूसँग भेटघाट गर्नेछन्। बेलायतले रुसी आक्रमण सुरु भएयता युक्रेनलाई कुल २५ अर्ब पाउन्ड (करिब ३३ अर्ब अमेरिकी डलर) बराबरको सहयोग गरिसकेको जनाएको छ, जसमा १६ अर्ब पाउन्ड प्रत्यक्ष सैन्य सहायता समावेश छ।
बेलायत भ्रमणपछि युक्रेनी राष्ट्रपति जेलेन्स्की मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि वासिङ्टन जाने कार्यक्रम छ। त्यस्तै, उनले हालै निधन भएका युक्रेनका समर्थक अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा समेत सहभागीता जनाउने अपेक्षा गरिएको छ।








