चिनियाँ राष्ट्रपति सीद्वारा ‘बाह्य हस्तक्षेप’ विरुद्ध ब्राजिललाई समर्थन

बेइजिङ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना ब्राजिलियाली समकक्षी लुइज इनासियो लुला डा सिल्भासँगको टेलिफोन संवादका क्रममा ब्राजिलको सार्वभौमसत्ता र बाह्य हस्तक्षेपविरुद्धको प्रयासलाई चीनले समर्थन गर्ने बताएका छन्। बेइजिङका सरकारी सञ्चारमाध्यमका अनुसार दुई नेताहरूबीच भएको संवादमा राष्ट्रपति सीले उक्त धारणा राखेका हुन्।

ब्राजिलमा राष्ट्रपति लुला र दक्षिणपन्थी उम्मेदवार फ्लेभियो बोल्सोनारोबीच हुन गइरहेको प्रतिस्पर्धात्मक चुनावको तीन महिनाभन्दा कम समय बाँकी छँदा दुई नेताबीच यो कुराकानी भएको हो।

चिनियाँ राज्य नियन्त्रित समाचार संस्था सिन्ह्वाका अनुसार सीले भनेका छन्, “चीनले ब्राजिलको अन्तर्राष्ट्रिय स्थिति र महत्त्वपूर्ण प्रभावलाई उच्च मूल्याङ्कन गर्छ। चीनले ब्राजिललाई आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न, बाह्य हस्तक्षेपको विरोध गर्न तथा क्षेत्रीय र विश्व शान्ति एवं स्थिरता कायम राख्न योगदान पुर्‍याउन समर्थन गर्छ।”

ब्राजिलको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, दुवै नेताहरूले क्षेत्रीय व्यापारिक समूह ‘मर्कोसुर’ र चीनबीचको सम्झौताका लागि वार्तालाई तीव्र बनाउने विषयमा सहमति जनाएका छन्। करिब एक घण्टाभन्दा बढी चलेको उक्त संवादका क्रममा राष्ट्रपति लुलाले ब्राजिलको दोस्रो ठूलो व्यापारिक साझेदार अमेरिकाबाट कर (ट्यारिफ) सम्बन्धी दबाब झेलिरहेको अवस्थामा बजार र व्यापारिक साझेदारहरूको विविधीकरणमा आफू प्रतिबद्ध रहेको बताएका छन्।

ब्राजिलका पूर्वराष्ट्रपति ज्यार बोल्सोनारोलाई जेल पठाउने गरी भएको कू प्रयाससम्बन्धी मुद्दाको प्रतिक्रिया स्वरूप अमेरिकाले सन् २०२५ मा मुख्य महसुल वृद्धि गरेको थियो। त्यसैको निरन्तरता स्वरूप वासिङ्टनले यसै महिना विभिन्न ब्राजिलियाली उत्पादनहरूमा दुई चरणमा अतिरिक्त कर लगाएको छ। राष्ट्रपति लुलाले अमेरिकी कर दबाबलाई चुनावी वर्षमा राजनीतिक प्रभाव पार्ने प्रयासका रूपमा आलोचना गरेका छन्।

अर्कोतर्फ, आगामी अक्टोबरमा हुने चुनावअघि ब्राजिलियास्थित निर्वाचन अधिकारीहरूसँग भेट्न खोजेका दुई अमेरिकी अधिकारीहरूलाई ब्राजिलले भिसा दिन अस्वीकार गरेको कूटनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

पूर्वराष्ट्रपतिका छोरा तथा वर्तमान सिनेटर फ्लेभियो बोल्सोनारोले देशको मतदान प्रणाली असुरक्षित रहेको दाबी पुनः दोहोर्‍याउँदै आएका छन्। यद्यपि, ब्राजिलद्वारा जारी विज्ञप्तिमा सिन्ह्वाले उल्लेख गरेको ‘बाह्य हस्तक्षेप’ को विषय संवादमा उठेको थियो वा थिएन भन्नेबारे केही खुलाइएको छैन।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x