रावलकोटमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोलीप्रहार: १४ जनाको मृत्यु, दुई दर्जन घाइते भएको दाबी

रावलकोट । पाकिस्तान नियन्त्रित कास्मिरको रावलकोटमा सोमबार साँझ प्रदर्शनकारीहरूमाथि सुरक्षा निकायले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्। ‘अवामी अधिकार लङ मार्च’ मा सहभागी प्रत्यक्षदर्शी तथा आन्दोलनकारीहरूले सो दाबी गरेका हुन्।

‘जोइन्ट अवामी एक्सन कमिटी’ (जेएएसी) का मुख्य सदस्य इम्तियाज असलमले एक भिडियो सन्देश जारी गर्दै प्रदर्शनकारीहरूको र्‍याली चिनार चोक हुँदै डी-चोकसतर्फ अघि बढ्ने क्रममा रातको विश्रामका लागि मकबुल भट शहीद चोकमा रोकिएका बेला आक्रमण भएको जानकारी दिए।

असलमका अनुसार पाकिस्तानी बलले निहत्था युवाहरूमाथि गोली चलाएको थियो। मृत्यु हुनेहरूमा आन्दोलनका संस्थापक ओमर नजिर कास्मीरीका भाइ उस्मान नजिरसमेत रहेका छन्। साथै खैगाला, कोटली, तट्टापानी, बञ्जा-बासपुर, छोटा गाला, हवेली र दुई जना बलोच नागरिकसहित १४ जनाले ज्यान गुमाएका हुन्।

मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध पारिएकाले सञ्चार सम्पर्कमा कठिनाइ भइरहेको बताउँदै असलमले विदेशमा रहेका कास्मीरीहरूलाई संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय मानव अधिकार संस्था र पाकिस्तानी दूतावासअगाडि विरोध प्रदर्शन गर्न अपिल गरेका छन्। उनले यातायातका साधन अभावका कारण अबको केही दिन पैदल नै मार्च जारी राख्दै मुजफ्फराबाद पुग्ने चेतावनी दिएका छन्।

अर्का एक प्रत्यक्षदर्शीका अनुसार सेतो झण्डा बोकेर शान्तिपूर्ण रूपमा अघि बढेका प्रदर्शनकारीहरूमाथि बल प्रयोग गरिएको थियो। उनले पाकिस्तानी सेना वा जनतासँग आफूहरूको कुनै युद्ध नरहेको तर राज्यले दमन र अत्याचार गरेको आरोप लगाए।

प्रदर्शनकारीहरूले ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र सञ्चार सम्पर्क विच्छेद (ब्ल्याकआउट) गरिएको दाबी गरे पनि पाकिस्तानी अधिकारीहरूका तर्फबाट भने यस घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया वा पुष्टि आइसकेको छैन।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x