काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
मंगलवार आयोगले सो जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जि.सी.ले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको भन्दै बुधवार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको बताए ।
उनकाअनुसार मंगलवार अपराह्नसम्म ३/४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ । जि.सी.ले मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम भोलि बिहान नभए दिउँसोसम्म सार्वजनिक आयोगको अनुमान रहेको बताए ।
यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने उनको भनाइ छ । त्यस्तै औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको जि।सीले बताए । उनले अघिल्लो निर्वाचनको तथ्यांक अध्ययन गर्दा औसतमा करिब पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको समेत बताए ।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दलहरूलाई सिट बाँडफाँड प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्ने सहायक प्रवक्ता जिसीले बताए ।








