मनिला/जनरल सान्टोस। दक्षिणी फिलिपिन्सको समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि फिलिपिन्ससहित आसपासका देशमा सुनामीको खतरा उत्पन्न भएको छ भने केही तटीय क्षेत्रमा एक मिटरसम्मका छालहरू मापन गरिएका छन् । भूकम्पले तटीय सहरहरूमा भवनहरूमा क्षति पुर्याउनुका साथै विद्युत् सेवा अवरुद्ध पारेको छ । विपद्पछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जोखिमयुक्त तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गरेका छन् । सुनामी चेतावनीलाई गम्भीरतापूर्वक लिन आह्वान गर्दै उनले राष्ट्रिय सरकार र विपद् व्यवस्थापन निकायहरू पूर्ण रूपमा परिचालित अवस्थामा रहेको बताएका छन् ।
फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प बिहान ७:३७ बजे प्रमुख व्यापारिक तथा टुना प्रशोधन केन्द्र मानिने जनरल सान्टोस सहरको दक्षिणपश्चिम समुद्री क्षेत्रमा आएको थियो । भूकम्पको केन्द्र कोटाबाटो समुद्री गर्त क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । मुख्य भूकम्पपछि ६.५ म्याग्निच्युडको शक्तिशाली परकम्प समेत महसुस गरिएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले उल्लेख गरेको छ ।
अधिकारीहरूका अनुसार हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन । कार्यालय समय सुरु हुनुअघि भूकम्प आएकाले ठूलो मानवीय दुर्घटना टरेको अनुमान गरिएको छ । यद्यपि, जनरल सान्टोसमा एउटा सानो व्यावसायिक भवन आंशिक रूपमा भत्किएको र त्यहाँ कोही फसेका छन् वा छैनन् भन्नेबारे खोजी भइरहेको छ । स्थानीय रेडियो संस्था डिजेडआरएचले आफ्नो कार्यालय भवनको केही भाग ढलेको तर कर्मचारीहरू सुरक्षित रहेको जनाएको छ भने सडक किनारमा पार्क गरिएका सवारीसाधनमा भवनका भग्नावशेषहरू खसेका छन् ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका केही तटीय क्षेत्रमा तीन मिटरसम्म र छिमेकी मुलुकहरूमा एक मिटर उचाइसम्मका छालहरू आउन सक्ने चेतावनी दिएको थियो । सुनामीको प्रभाव स्वरूप फिलिपिन्सको साराङ्गानी र सुल्तान कुदारात क्षेत्रमा एक मिटर उचाइका छालहरू अभिलेख गरिएका छन् भने इन्डोनेसियाको सुलावेसी टापुमा ८३ सेन्टिमिटर उचाइको सुनामी छाल मापन गरिएको छ । मलेसियाको मौसम विभागले पनि दक्षिणी फिलिपिन्ससँग समुद्री मार्गबाट नजिक रहेको बोर्नियो टापुको सबाह राज्यका लागि सुनामी चेतावनी जारी गरेको छ ।
ताइवान, जापान, पपुवा न्यू गिनी तथा पश्चिमी प्रशान्त क्षेत्रका केही टापु राष्ट्रहरूमा पनि समुद्री सतहमा सामान्य उतारचढाव देखिन सक्ने भन्दै सचेत गराइएको छ । यद्यपि, भूकम्प आएको करिब दुई घण्टापछि गुआमका लागि जारी सतर्कता फिर्ता लिइएको छ भने हवाईका लागि कुनै खतरा नरहेको स्पष्ट पारिएको छ । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ भनिने अत्यधिक भूकम्पीय सक्रिय क्षेत्रमा अवस्थित भएकाले फिलिपिन्समा बारम्बार शक्तिशाली भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्दछ ।








