अमेरिकी चेतावनीका बीच इरान-पाकिस्तान वार्ता, मध्यपूर्वमा कूटनीतिक पहल तीव्र

इस्लामावाद । मध्यपूर्वमा बढ्दो तनाव र सम्भावित सैन्य टकरावका बीच इरानका विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच इस्लामावादमा महत्वपूर्ण वार्ता भएको छ। शुक्रबार राति अबेरसम्म भएको उक्त भेटवार्तामा क्षेत्रीय सुरक्षा, इरान सङ्कट र पश्चिम एसियाको तनाव कम गर्ने कूटनीतिक प्रयासहरूका विषयमा विस्तृत छलफल भएको शनिबार सार्वजनिक गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा स्थायी शान्तिका लागि गरिएका प्रयास सफल नभए सैन्य आक्रमण गर्ने चेतावनी दिइरहेका बेला इरानी विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखबीचको यो भेटलाई तनाव न्यूनीकरणका लागि गरिएको एक महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ।

इरानी समाचार एजेन्सी ‘तस्निम’ का अनुसार दुई नेताबीचको बैठकमा क्षेत्रमा थप तनाव बढ्न नदिन भइरहेका कूटनीतिक प्रयास र नयाँ रणनीतिहरूबारे छलफल भएको थियो। वार्ताका क्रममा दुवै पक्षले पश्चिम एसियामा सुरक्षा र स्थिरता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। पाकिस्तानले विगतमा पनि यस क्षेत्रका द्वन्द्वरत पक्षहरूबीच मध्यस्थता र मेलमिलापको प्रयास गरे पनि हालसम्म कुनै ठोस परिणाम भने निस्कन सकेको छैन।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पनि मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चासो व्यक्त गरेका छन्। उनले कुनै पनि देशको सार्वभौमिकताविरुद्ध बल प्रयोग गरिने कार्यको विरोध गर्दै यस क्षेत्रमा राजनीतिक स्थिरता बहाल गर्नका लागि कूटनीतिको बाटो रोज्न आह्वान गरेका छन्।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारी गरिरहेको संकेत मिलेको छ। अमेरिकी सञ्चार माध्यम ‘सीबीएस न्यूज’ को रिपोर्ट अनुसार ट्रम्प प्रशासनले सम्भावित सैन्य कारबाहीका लागि रणनीतिक खाका तयार गरिरहेको भए पनि यस विषयमा अन्तिम निर्णय भने भइसकेको छैन।यस्तो जटिल परिस्थितिमा इरान र पाकिस्तानका उच्च अधिकारीहरूबीच भएको यो संवादलाई अन्तर्राष्ट्रिय समुदायले अर्थपूर्ण रूपमा लिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest