माल्दिभ्स । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनः सक्रिय बनाउन आह्वान गरेका छन्। ६१ औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले क्षेत्रीय हितका लागि सदस्य राष्ट्रहरूलाई संवादमार्फत आफ्ना मतभेद सुल्झाउन आग्रह गरेका हुन्।
सार्कमा लामो समयदेखि कायम गतिरोधप्रति सङ्केत गर्दै मुइज्जुले विद्यमान समस्याहरूको समाधान वार्ताबाटै खोजिनुपर्ने बताए। क्षेत्रीय शान्ति र सहकार्यका लागि सार्क सदस्य राष्ट्रहरू पुनः वार्ताको टेबलमा आउनुपर्नेमा जोड दिँदै उनले गतिरोध अन्त्यका लागि माल्दिभ्स मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारे।
४३ देश तथा अन्तर्राष्ट्रिय सङ्गठनका ११३ जना कूटनीतिज्ञहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा उनले माल्दिभ्सको विदेश नीतिको व्याख्या गर्दै अन्तर्राष्ट्रिय समुदायलाई पनि विवादहरू शान्तिपूर्ण संवादबाटै समाधान गर्न आग्रह गरे।
यसैबीच, जुलाई महिनाको सुरुमा बङ्गलादेशले पनि दक्षिण एसियाली क्षेत्रमा सहकार्य गहिरो बनाउनुपर्नेमा जोड दिएको थियो। बङ्गलादेशकी वैदेशिक मामिला राज्यमन्त्री शमा ओबाएदले सार्कलाई पुनर्जीवित गर्न बलियो कार्यान्वयन क्षमता, वित्तीय सुदृढता र प्रभावकारी संयन्त्रको आवश्यकता औँल्याएकी थिइन्। उनले सार्क सदस्य राष्ट्रहरूसँगको छलफलपछि वरिष्ठ अधिकारीहरूको बैठक तथा मन्त्रिपरिषद्को विशेष सत्र बोलाउन बङ्गलादेशले समन्वय गर्ने तयारी गरिरहेको जानकारी दिएकी थिइन्।
आठ सदस्य राष्ट्रहरू—अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका संलग्न सार्क क्षेत्रीय आर्थिक सहकार्य र विकासका लागि गठन भएको भए पनि पाकिस्तानबाट हुने सीमापार आतंकवादका कारण पछिल्ला वर्षहरूमा निष्क्रिय प्रायः बनेको छ।








