इरान–अमेरिका तनाव: खाडी क्षेत्रमा सैन्य सतर्कता र आक्रमणको होड

पेरिस । मध्यपूर्वमा बढ्दो सैन्य मुठभेड र आक्रमणका शृङ्खलाले क्षेत्रीय सुरक्षालाई थप जोखिममा धकेलेको छ। संयुक्त अरब इमिरेट्स (युएई) माथि भएको पछिल्लो आक्रमणपछि विश्व समुदायले तत्काल संयमता अपनाउन अपिल गरेका छन्। बेलायत, फ्रान्स, जर्मनी र साउदी अरेबियाले तनाव कम गर्न आग्रह गरिरहँदा बेलायती प्रधानमन्त्री किर स्टार्मरले अवस्था नियन्त्रण बाहिर जान नदिन थप कदम चाल्नुपर्ने बताएका छन्। त्यस्तै, जर्मन चान्सलर फ्रेडरिक मर्जले इरानलाई वार्ताको टेबुलमा फर्कन आग्रह गर्दै विश्व शान्तिलाई जोखिममा नपार्न सचेत गराएका छन्। इरानले भने तेल संरचनाहरूमा आक्रमण गर्ने आफ्नो कुनै पूर्वयोजना नरहेको दाबी गर्दै अमेरिकी सैन्य गतिविधिलाई ‘उक्साहटपूर्ण’ संज्ञा दिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै युएईको शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरूलाई बाँकी हप्ताका लागि अनलाइन कक्षामार्फत दूरशिक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

समुद्रमा पनि दुई पक्षबीचको तनाव चुलिएको छ। अमेरिकी केन्द्रीय कमान्डका प्रमुख एडमिरल ब्राड कूपरका अनुसार अमेरिकी सेनाले व्यापारिक जहाजहरूलाई खतरा पुर्‍याउने इरानका छवटा साना डुङ्गाहरू नष्ट गर्नुका साथै विभिन्न क्षेप्यास्त्र र ड्रोनहरूलाई निष्क्रिय बनाएको छ। तेहरानले भने अमेरिकी दाबीलाई निराधार र झुटो भन्दै आफ्ना कुनै पनि युद्ध डुङ्गा नष्ट नभएको अडान लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटीको स्थिति नियन्त्रणमै रहेको र दक्षिण कोरियाली जहाजमा सामान्य असर परेबाहेक ठूलो क्षति नभएको उल्लेख गरेका छन्। तर, युएईले आफ्नो फुजैराह ऊर्जा केन्द्रमा इरानी आक्रमण भएको र त्यसक्रममा तीन भारतीय नागरिक घाइते भएको पुष्टि गर्दै आवश्यकता परे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओमानको बुखा क्षेत्रमा पनि एक आवासीय भवनमा प्रहार हुँदा दुई जना घाइते भएका छन्।

हर्मुज जलघाँटीमा सैन्य र कूटनीतिक शक्ति प्रदर्शनको होड चलिरहेको छ। अमेरिकी युद्धपोतहरू व्यापारिक जहाजको सुरक्षाका लागि खाडी क्षेत्रमा परिचालन भइरहँदा इरानी सञ्चारमाध्यमहरूले भने अमेरिकी जहाज नजिकै चेतावनीस्वरूप क्षेप्यास्त्र र रकेट प्रहार गरिएको दाबी गरेका छन्। अमेरिकी पक्षले आफ्ना व्यापारिक जहाजहरू सुरक्षित रूपमा जलमार्ग पार गरेको बताए पनि इरानको क्रान्तिकारी गाड्र्सले त्यसलाई अस्वीकार गर्दै कुनै पनि जहाजले हर्मुज पार नगरेको जिकिर गरेको छ। इजरायलले पनि सुरक्षा सतर्कतालाई उच्च स्तरमा राख्दै इरान-अमेरिका तनावलाई सूक्ष्म रूपमा निगरानी गरिरहेको छ। यी विकसित घटनाक्रम, आपसी आरोप–प्रत्यारोप र बढ्दो सैन्य गतिविधिले मध्यपूर्वको अस्थिरतालाई अझ गहिरो बनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x