‘मेड इन युरोप’ योजनाप्रति चीनको आपत्ति, प्रतिरोधात्मक कदम चाल्ने चेतावनी

बेइजिङ/ब्रसेल्स युरोपेली सङ्घ (इयु) ले आफ्ना घरेलु उद्योगलाई संरक्षण गर्न अघि सारेको ‘मेड इन युरोप’ रणनीतिप्रति चीनले तीव्र असन्तुष्टि व्यक्त गरेको छ। रणनीतिक क्षेत्रमा विदेशी कम्पनीको भूमिका सीमित गर्ने इयुको प्रस्तावले चिनियाँ कम्पनीहरूलाई लक्षित गरेको भन्दै बेइजिङले यसलाई ‘प्रणालीगत भेदभाव’ भनेको छ।

इयुले गत मार्चमा सार्वजनिक कोष र अनुदानमा पहुँच चाहने कम्पनीहरूका लागि कडा प्रावधान प्रस्ताव गरेको थियो। प्रस्तावित ‘इन्डस्ट्रियल एक्सेलेरेटर एक्ट’ अनुसार कार, हरित प्रविधि र इस्पात जस्ता क्षेत्रमा काम गर्ने कम्पनीहरूले निश्चित प्रतिशत युरोपेली सामग्री नै प्रयोग गर्नुपर्ने हुन्छ।

युरोपेली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन, औद्योगिक गिरावट रोक्न र रोजगारी सुरक्षित गर्न यो कदम चालिएको इयुको तर्क छ। यद्यपि, यसले विदेशी कम्पनीहरूलाई युरोपेली साझेदारसँग सहकार्य गर्न र प्रविधि हस्तान्तरण गर्न बाध्य पार्ने प्रावधान पनि समेटेको छ, जसबाट विशेषगरी चिनियाँ ब्याट्री र विद्युतीय सवारी (इभी) उत्पादकहरू प्रभावित हुने देखिएको छ।

चीनको वाणिज्य मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै इयुको प्रस्तावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। युरोपेली कमिसनसमक्ष आधिकारिक टिप्पणी पेश गरिसकेको जानकारी दिँदै मन्त्रालयले यो योजना लागू भएमा चिनियाँ उद्यमहरूको वैध हितमा क्षति पुग्ने दाबी गरेको छ।

चीनले आफ्ना कम्पनीहरूको अधिकार रक्षाका लागि आवश्यक परे प्रतिरोधात्मक उपायहरू अपनाउने स्पष्ट सङ्केत दिएको छ। यस्तै, इयुका लागि चिनियाँ चेम्बर अफ कमर्सले यसलाई ‘संरक्षणवादी नीति’ को संज्ञा दिँदै दुई पक्षबीचको व्यापारिक सम्बन्धमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ।

युरोपेली उद्योगीहरूले भने लामो समयदेखि चिनियाँ कम्पनीहरूले सरकारबाट भारी अनुदान पाउने गरेको र त्यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको गुनासो गर्दै आएका छन्। चिनियाँ अनुदानका कारण सस्तो मूल्यमा सामग्री भित्रिँदा युरोपेली उद्योगहरू धराशायी हुन लागेको भन्दै इयुले यो नयाँ नीति ल्याउन लागेको हो।यो विवादले विश्वका दुई ठूला व्यापारिक शक्तिहरूबीचको आर्थिक सम्बन्धलाई थप जटिल बनाउने र विश्वव्यापी आपूर्ति शृङ्खलामा प्रभाव पार्न सक्ने विश्लेषकहरूको बुझाइ छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x