काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुठी संस्थान सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा गोविन्द टण्डनलाई नियुक्त गरेको छ।
गुठी संस्थान ऐन, २०३३ को दफा ९ को उपदफा १ (क) बमोजिम मन्त्री प्रतिभा रावलले टण्डनलाई आगामी तीन वर्षका लागि अध्यक्ष नियुक्त गरेको मन्त्रालय सचिव मदन भुजेलले जानकारी दिए। नवनियुक्त अध्यक्ष टण्डनले संस्थानको केन्द्रीय कार्यालय पुगी पदभार ग्रहण गरिसकेका छन्।
पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन विषयमा विद्यावारिधि गरेका टण्डनले गुठी परम्परा र संस्कृतिसम्बन्धी विषयमा पुस्तक पनि लेखेका छन्, जसमा ‘नेपालमा गुठी व्यवस्था’ र ‘गुठी जग्गा हो कि सम्पदा ?’ पर्दछन्। यसअघि उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव, कोषाध्यक्ष र संस्थानको विद्वत् परिषद्को दुई पटक अध्यक्षलगायत जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्।
२०३३ सालमा बनेको गुठी संस्थान ऐन अझै संशोधन, परिमार्जन केही नभएकाले त्यस विषयमा काम गर्छु र गुठीको जग्गा काम नलाग्ने भन्ने सन्देश आम मानिसमा गएकाले त्यसको महत्व बुझाउने कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले जनाए।
गुठी जग्गाको कुल परिमाणको अभिलेख अहिलेसम्म तयार नभएको बताउँदै हरेक मठ-मन्दिरका नाममा रहेको जग्गाको डिजिटल अभिलेखीकरण गर्ने योजना रहेको टण्डनले जानकारी दिए। विभिन्न मितिमा गुठी जग्गा रैकर गर्दा सरकारले संस्थानलाई तिर्न बाँकी रहेको रु ३० अर्ब किस्ताबन्दीमा माग गरी मठ-मन्दिर व्यवस्थापनमा लगाउने योजना पनि उनले सुनाए।
संस्थानमा इन्जिनियर, ओभरसियरलगायत प्राविधिक जनशक्ति थप गरी मठ-मन्दिर पुनर्निर्माण र जीर्णोद्धार कार्यमा चुस्तता ल्याउने बताएका टण्डनले अध्यक्ष पदबापत कुनै सेवा-सुविधा नलिने घोषणा गरे। पदबहाली कार्यक्रममा उनले एक वर्षको सेवा-सुविधा रसुवा बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने र बाँकी दुई वर्षको रकम अन्य सामाजिक कार्यमा लगाउने जनाए।








