राजदूत नियुक्ति विवादमा बेलायती प्रधानमन्त्री स्टार्मरमाथि संसदीय अनुसन्धानको दबाब

लण्डन । अमेरिकाका लागि बेलायती राजदूतमा पिटर म्यान्डेलसनको विवादित नियुक्तिलाई लिएर प्रधानमन्त्री कीर स्टार्मरमाथि गम्भीर राजनीतिक संकट आइलागेको छ। यस विषयमा संसदीय छानबिन गर्ने वा नगर्ने भन्नेबारे मंगलबार बेलायती संसद्मा निर्णायक बहस र मतदान हुँदैछ। विपक्षी कन्जरभेटिभ पार्टीले प्रधानमन्त्री स्टार्मरले नियुक्ति प्रक्रियाबारे संसद्लाई गलत सूचना दिएको आरोप लगाउँदै उनीविरुद्ध विशेषाधिकार समितिमा औपचारिक अनुसन्धानको माग गरेको छ।

विवादको केन्द्रमा रहेका प्रधानमन्त्रीका पूर्व चिफ अफ स्टाफ मोर्गन म्याकस्विनीले मंगलबार बिहान हाउस अफ कमन्सको विदेश मामिला समितिमा गवाही दिँदैछन्। उनलाई सुरक्षा जाँचमा गम्भीर प्रश्न उठ्दा उठ्दै पनि म्यान्डेलसनलाई किन राजदूत जस्तो संवेदनशील जिम्मेवारी दिइयो भन्नेबारे प्रश्न सोधिनेछ। म्यान्डेलसनको नाम अमेरिकी यौन अपराधी जेफ्री एपस्टेनसँग जोडिएपछि गत सेप्टेम्बरमा उनलाई पदबाट हटाइएको थियो। फेब्रुअरीदेखि उनीमाथि सन् २००९ मा एपस्टेनलाई सरकारी गोप्य सूचना दिएको आरोपमा प्रहरी अनुसन्धान समेत सुरु भइसकेको छ।

विपक्षी दलकी नेतृ केमी बाडेनोचले स्टार्मरले ‘उचित प्रक्रिया अपनाइएको’ भन्दै संसद्लाई भ्रममा पारेको दाबी गरेकी छिन्। पूर्व उच्च कर्मचारी ओली रोबिन्सले समेत प्रधानमन्त्री कार्यालयले अमेरिकी प्रशासन परिवर्तन हुनुअघि नै म्यान्डेलसनलाई पदस्थापन गराउन सुरक्षा निकायलाई दबाब दिएको आरोप लगाएका छन्। यद्यपि, प्रधानमन्त्री स्टार्मरले भने कुनै दबाब नदिएको र आफूलाई सुरक्षा चिन्ताबारे जानकारी नगराइएको दाबी गर्दै आएका छन्। मे ७ मा हुने स्थानीय चुनावको पूर्वसन्ध्यामा चर्किएको यो विवादलाई स्टार्मरले विपक्षीको ‘राजनीतिक स्टन्ट’ भनेका छन्।

सन् २०२४ मा ठूलो बहुमतका साथ सत्तामा आएका स्टार्मरका लागि यो प्रकरण नेतृत्वको ठूलो परीक्षा बनेको छ। यदि विशेषाधिकार समितिले उनलाई संसद्लाई ढाँटेको दोषी ठहर गरेमा, यसले पूर्वप्रधानमन्त्री बोरिस जोनसनको ‘पार्टीगेट’ काण्ड जस्तै गम्भीर नैतिक र राजनीतिक संकट निम्त्याउन सक्ने विश्लेषण गरिएको छ। सत्तारुढ लेबर पार्टीले आफ्ना सांसदहरूलाई विपक्षीको प्रस्तावविरुद्ध एकजुट हुन निर्देशन दिएको भए पनि केही असन्तुष्ट सांसदहरूको भूमिकालाई चासोका साथ हेरिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x