काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भदौ ५ गते शुक्रबार बस्ने भएको छ। बैठक वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टी घर’मा बस्ने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
बैठकमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तथा २०८३ को पार्टी कार्ययोजना अनुमोदनलगायत विषयमा छलफल हुने छ।
त्यस्तै, पदाधिकारी तथा विभागीय प्रमुखको मनोनयन, स्थानीय तहका उम्मेदवार छनोट समिति गठन र उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण कार्यक्रमबारे पनि निर्णय हुने बताइएको छ। बैठकमा पार्टीको डिजिटल मासिक पत्रिका ‘स्वतन्त्र’ प्रकाशन गर्ने प्रस्तावसमेत प्रस्तुत गरिनेछ।








