अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेका बेला दुवै पक्षबीच वार्ताको वातावरण मिलाउन अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तान पुग्ने भएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई ‘उचित सम्झौता’ को प्रस्ताव गरिएको जानकारी दिँदै यदि तेहरानले यसलाई हल्का रूपमा लिएमा इरानका पावर प्लान्ट र पुलहरू जस्ता रणनीतिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका छन्। इरानले विगत दुई हप्तादेखि जारी युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै ट्रम्पले मध्यस्थकर्ताको आग्रहमा आफ्नो टोली पुनः पाकिस्तान जान लागेको स्पष्ट पारेका हुन्।
यसैबीच, सामरिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गको अवरोधले विश्व बजारमा अन्योल थपेको छ, जहाँ इरानले अमेरिकी नाकाबन्दी नहटेसम्म मार्ग नखोल्ने अडान राखेको छ। अप्रिलको सुरुवातमै पाकिस्तानमा भएको उच्चस्तरीय छलफलपछि पनि दुवै देशबीचको गतिरोध कायमै रहँदा आगामी वार्तालाई निकै चासोका साथ हेरिएको छ।








