काठमाडौँ । गत भदौ १० (अगस्ट २६) मा भोटेकोशी नदीमा आएको विनाशकारी पहिरो र बाढीका कारण ३४ देशका ६०७ जना विदेशी पर्यटक अझै बेपत्ता रहेका छन्। जनैपूर्णिमाका अवसरमा कैलाश मानसरोवर, तिब्बत तथा गोसाइँकुण्ड र मुस्ताङतर्फ भ्रमणमा निस्किएका पर्यटकहरू उक्त विपद्पछि सम्पर्कविहीन भएको पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिएका छन्। बेपत्ता हुनेहरूमा २६९ पुरुष, ३२९ महिला र नौ जना लिङ्ग नखुलेका व्यक्तिहरू रहेका छन्।
विभागका अनुसार बेपत्ता हुनेहरूमा सबैभन्दा बढी छिमेकी मुलुक भारतका नागरिक रहेका छन्। हालसम्म १८९ जना भारतीय नागरिक सम्पर्कविहीन छन्। यस्तै, अमेरिकाका ६५, मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, अष्ट्रेलिया र लात्भियाका ३३–३३, बेलायतका ३२, क्यानडाका ३०, कोरिया र सिंगापुरका ९–९, जर्मनीका ८, रुस र दक्षिण अफ्रिकाका ६–६, न्युजिल्यान्ड र जापानका ५–५ तथा फ्रान्सका ४ जना पर्यटक हराइरहेका छन्। यसैगरी कजाकिस्तानका ३, बेलारुस, बेल्जियम, आयरल्यान्ड, इटाली, एस्टोनिया, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्सका २–२ जना र फिनल्यान्ड, फिलिपिन्स, भियतनाम, हंगेरी, इजरायल, स्विट्जरल्यान्ड, स्विडेन र लिथुआनियाका १–१ जना नागरिक बेपत्ता सूचीमा छन्।
विदेशी पर्यटकहरूसँगै सहयोगी र गाइडका रूपमा गएका १८८ जना नेपाली आन्तरिक पर्यटक तथा टोलीका सदस्यहरू पनि विपद्पछि सम्पर्कविहीन रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा सरकारले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सुरक्षा निकाय र उद्धार टोलीले हालसम्म ३१० जना विदेशी नागरिकलाई जीवितै उद्धार गर्न सफल भएका छन्, जसमा २५८ पुरुष र ५२ जना महिला रहेका छन्। उद्धारसँगै स्थानीय सरकार र सुरक्षा निकायहरूले प्रभावित क्षेत्रमा राहत वितरण कार्यलाई पनि तीव्र बनाएका छन्।








