काठमाडौं। नेपाली बजारमा शुक्रबार लगातार दोस्रो दिन पनि सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य तीन हजार ३०० रुपैयाँले बढेर तीन लाख १६ हजार ७०० रुपैयाँ कायम भएको छ, जुन बिहीबार तीन लाख १३ हजार ४०० रुपैयाँ थियो।
यसअघि बिहीबार पनि सुनको भाउ प्रतितोला नौ हजार ३०० रुपैयाँले बढेको थियो, जसले गर्दा दुई दिनभित्रै सुन उल्लेख्य मात्रामा महँगिएको छ।
असली चाँदीको मूल्य पनि आज प्रतितोला १३० रुपैयाँले बढेर चार हजार ९८५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विश्व बजारमा आज प्रतिऔंस सुन चार हजार ५४०.१८ अमेरिकी डलर र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







