तेलभिब। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानको सुरक्षा क्षेत्रभित्र रहेको हिजबुल्लाहको मुख्य गढ ध्वस्त पार्दै इजरायलले अर्को ठुलो विजय हासिल गरेको दाबी गरेका छन्। सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक वक्तव्य जारी गर्दै इजरायली प्रधानमन्त्रीको कार्यालयले बोफोर्ट रिज र अली अल-ताहेर रिजमा रहेका आतङ्ककारी अख्डाहरू पूर्ण रूपमा नष्ट गरिएको जनाएको छ। इजरायलमाथिका कुनै पनि खतरा हटाउन लेबनानभित्रका आतङ्ककारी पूर्वाधारहरू ध्वस्त पार्ने नीति निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
आफ्ना विरोधीहरूलाई चेतावनी दिँदै इजरायली प्रधानमन्त्रीले पुनः आक्रमणको प्रयास गरिए अझ कडा प्रहार सहनुपर्ने बताएका छन्। अझै केही काम बाँकी रहेको र त्यो चाँडै पुरा गरिने दाबी वक्तव्यमा गरिएको छ।
अर्कोतर्फ, लेबनानी राष्ट्रपति जोसेफ आउनले रोममा भएका हालैका कूटनीतिक छलफलहरूमा सीमा विवाद र बन्दी रिहाइबारे सकारात्मक प्रगति भएको बताएका छन्। अगस्त ७ मा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति आउनले रोम वार्तामा युद्धविराम, घरहरू भत्काउने कार्य, सीमा विवाद र बन्दीहरूको फिर्तीलगायतका चार मुख्य विषयमा केन्द्रित भई छलफल भएको जानकारी दिएका थिए।
बाँकी रहेका विषयहरू समाधान गर्न अमेरिकाले पहल गर्ने र अमेरिकी जनरल जोसेफ क्लियरफिल्डले परिस्थितिको अनुगमन गर्न चाँडै बेरुतको भ्रमण गर्ने बताइएको छ। लेबनान र इजरायलका अधिकारीहरूबिच रोममा भएको तीन दिने वार्ताको विरोध हिजबुल्लाहले गरे पनि यो दुई देशबिचको सातौँ चरणको द्विपक्षीय छलफल थियो।








