वासिङ्टन । आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि डाक (Mail-in) मार्फत हुने मतदानलाई सीमित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित योजनामाथि रोक लगाउने आदेशलाई फुकुवा गर्न अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्च अदालतको यो निर्णयलाई मध्यावधि चुनावअघि राष्ट्रपति ट्रम्पका लागि एउटा ठुलो कानुनी धक्काका रूपमा हेरिएको छ।
नौ सदस्यीय सर्वोच्च अदालतका छ जना रूढिवादी न्यायाधीशमध्ये केवल दुई जनाले मात्र यस निर्णयको विपक्षमा असहमति जनाएका थिए। बहुमत न्यायाधीशहरूको निर्णयसँग सहमति जनाउँदै न्यायाधीश ब्रेथ काभानाले ट्रम्पको योजना दीर्घकालका लागि कानुनी रूपमा सही हुन सक्ने भए तापनि “राज्य तथा स्थानीय निर्वाचन अधिकारीहरूसँग चुनावअघि यस नियमलाई व्यावहारिक रूपमा लागू गर्न पर्याप्त समय नरहेको” टिप्पणी गरेका छन्।
अदालतको निर्णय सार्वजनिक भएपछि सिनेटका सङ्ख्यिक नेता चक शुमरले प्रतिक्रिया दिँदै भने, “मतदान गर्न गाह्रो बनाउने राष्ट्रपतिको योजना स्पष्ट रूपमा असंवैधानिक थियो। सर्वोच्च अदालतसँग सही निर्णय गर्नुको विकल्प थिएन।” उत्तर क्यारोलिनालगायतका कतिपय राज्यहरूले मतदाताहरूलाई डाक (Mail-in) ब्यालट पठाउन सुरु गरिसकेका छन्।
राष्ट्रपति ट्रम्पले कुनै प्रमाणविना डाक मतदान प्रणाली धाँधलीयुक्त हुने दाबी गर्दै गत मार्चमा यसलाई सीमित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, जसका विरुद्ध तुरुन्तै विभिन्न कानुनी चुनौतीहरू दर्ता भएका थिए। डेमोक्रेटिक नेतृत्वका राज्यहरूले अमेरिकी संविधान अनुसार चुनाव सञ्चालन र व्यवस्थापनको अधिकार सङ्घीय सरकारसँग नभई राज्यहरूसँग रहने तर्क गर्दै प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए।
ट्रम्पको कार्यकारी आदेश अनुसार योग्य मतदाताहरूको सूची तयार गर्नुपर्ने र अमेरिकी हुलाक सेवा (USPS) ले केवल उक्त सूचीमा नाम रहेका मतदाताहरूलाई मात्र ब्यालट पुर्याउन पाउने व्यवस्था गरिएको थियो।
अमेरिकन सिभिल लिबर्टीज युनियन ले सर्वोच्च अदालतको यस निर्णयलाई “मतदानको अधिकार, निर्वाचनको निष्पक्षता र प्रजातन्त्रका लागि ठुलो जित” भन्दै स्वागत गरेको छ। ACLU का भोटिङ राइट्स प्रोजेक्टका निर्देशक सोफिया लिन लाकिनले भने, “राष्ट्रपतिले हाम्रो चुनाव सञ्चालन गर्ने होइन, कसको ब्यालट गणना हुने भन्ने निर्णय हुलाक सेवाले गर्दैन र नोभेम्बरको चुनावको निर्णय ह्वाइट हाउसले नभई मतदाताहरूले गर्नेछन्।”
नोभेम्बर ३ को चुनावभन्दा केही महिनाअघि यो योजनालाई लिएर कानुनी स्पष्टता नहुँदा अन्योल सिर्जना भएको भन्दै धेरै राज्यका अधिकारीहरूले चेतावनी दिएका थिए। यस्तै, हुलाक सेवाका एक ह्विसलब्लोअरले पनि प्रणालीहरू हतार र अव्यवस्थित रूपमा तयार पारिएकाले लाखौँ अमेरिकीहरूले ब्यालट प्राप्त नगर्न सक्ने जोखिम रहेको औँल्याएका थिए।
ट्रम्पले लामो समयदेखि मेल-इन ब्यालटको आलोचना गर्दै आए तापनि उनले आफैँ भने यसको प्रयोग गर्दै आएका छन्। उनले सन् २०२० को राष्ट्रपति निर्वाचनमा जो बाइडेनसँग पराजित भएपछि पनि मेल-इन भोटिङमा व्यापक धाँधली भएको दाबी निरन्तर गर्दै आएका छन्।
विभिन्न मतसर्वेक्षणहरूका अनुसार नोभेम्बरको मध्यावधि चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीले कंग्रेस, विशेष गरी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ मा आफ्नो झिनो बहुमत गुमाउन सक्ने गम्भीर खतरा रहेको देखाएका छन्। यदि डेमोक्र्याटहरूले जित हासिल गरेमा उनीहरूले ट्रम्पका एजेन्डामा रोक लगाउने र उनलाई तेस्रोपटक महाभियोग लगाउनेसम्मको कदम चाल्न सक्ने सङ्केत दिइसकेका छन्।







