जेनेभा । वर्षायाम नजिकिँदै गर्दा गाजा क्षेत्रमा गम्भीर स्वास्थ्य सङ्कट निम्तिन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन (WHO) ले चेतावनी जारी गरेको छ। सङ्गठनका अनुसार गाजाका अधिकांश बासिन्दाहरू अझै पनि अत्यन्तै कष्टकर र भिडभाडयुक्त अस्थायी टेन्ट तथा शिविरहरूमा बसोबास गरिरहेका छन्, जहाँ पिउने पानी र सरसफाइको न्यूनतम सुविधा समेत उपलब्ध छैन।
अकुपाइड प्यालेस्टाइन टेरिटोरीका लागि डब्लुएचओ प्रतिनिधि रेइनहिल्डे भान दे विर्ड्टका अनुसार गाजामा पिउने पानीको गुणस्तर खस्कँदै गएका कारण जलजन्य रोगहरू तीव्र रूपमा फैलिरहेका छन्। गत मार्च महिनामा २७ हजार रहेको कडा झाडापखालाका बिरामीको सङ्ख्या अगस्टसम्म आइपुग्दा बढेर ४८ हजारभन्दा बढी पुगेको छ। ६,७०० भन्दा बढी पानीका नमुना परीक्षण गर्दा सूक्ष्म जैविक प्रदूषण जनवरीको ६ प्रतिशतबाट बढेर अगस्टमा १८ प्रतिशत पुगेको पुष्टि भएको छ।
वर्षा सुरु भएसँगै शिविरहरूमा ढल र मिटरौँ अग्ला फोहोरका थुप्राहरू सोहोरिएर आवासीय क्षेत्रसम्म पुग्ने, लामखुट्टे तथा जीवाणुहरूको प्रकोप बढ्ने र यसले महामारीको रूप लिन सक्ने डब्लुएचओको अनुमान छ। इजरायली प्रतिबन्धका कारण रोग निदानका लागि आवश्यक प्रयोगशाला सामग्री र औषधिहरू गाजा प्रवेश गर्न नपाउँदा स्वास्थ्य प्रणाली थप जर्जर बनेको छ। सङ्गठनले तत्काल स्थायी आश्रयस्थल, स्वच्छ खानेपानी र फोहोर व्यवस्थापनका लागि आवश्यक सामग्रीहरू विनाअवरोध गाजा प्रवेश गराउन इजरायलसँग आग्रह गरेको छ।








