अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यही साता बेइजिङ पुग्दै छन् ,चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटका लागि। यो भ्रमण सन् २०१७ पछिको पहिलो हो, जतिबेला ट्रम्पलाई फर्बिडेन सिटीभित्र भोजमा आमन्त्रण गरिएको थियो , अमेरिकी इतिहासमा कुनै राष्ट्रपतिले नपाएको सम्मान।
यसपटक पनि स्वागत त्यत्तिकै भव्य हुने संकेत छ। चिनियाँ शीर्ष नेतृत्व बस्ने र काम गर्ने प्रतिबन्धित परिसर झोङनान्हाइमा पनि भेटघाट हुने कार्यक्रम छ। तर भव्यताभन्दा बाहिर, वार्ताको टेबलमा राखिने विषयहरू जटिल छन् , व्यापार, प्रविधि र ताइवानका पुराना विवादमा अब इरान नयाँ टकरावको रूपमा थपिएको छ।
ट्रम्प जुन चीनमा फर्कंदै छन्, त्यो सन् २०१७ को चीन होइन। सी अभूतपूर्व तेस्रो कार्यकालमा छन् र चीन पहिलेभन्दा बलियो र आक्रामक देखिन्छ। “नयाँ उत्पादक शक्ति” को नाममा नवीकरणीय ऊर्जा, रोबोटिक्स र कृत्रिम बुद्धिमत्तामा अर्बौं लगानी भइसकेको छ।
उत्तरको दुर्गम पहाडी क्षेत्रहरूमा सौर्य र वायु ऊर्जाका संयन्त्रहरू फैलिएका छन्। दक्षिणका कारखानाहरूमा स्वचालन प्रणालीले मानव श्रमको ठाउँ लिँदैछ। चोङछिङ जस्ता महानगर — एक समय धुलाम्मे औद्योगिक सहर आज सामाजिक सञ्जालका प्रभावकर्ताहरूको गन्तव्य बनेका छन्।
राज्यको ठूलो लगानीले चोङछिङलाई रूपान्तरण गरिदिएको छ। दक्षिण-पश्चिमको यो सहर अब नयाँ प्रविधि, नयाँ व्यापार र नयाँ छवि — “ट्रेन्डी” — को प्रतीक बनेको छ, जसमार्फत चीनले विश्वलाई आफ्नो नरम अनुहार देखाउन खोजेको छ।
इन्टरनेशनल क्राइसिस ग्रुपमा अमेरिका-चीन सम्बन्धका वरिष्ठ सल्लाहकार अली वाइन भन्छन्, सन् २०१७ मा चीन अमेरिकाको बराबर हो भनेर पुष्टि गर्न उत्सुक थियो।
“चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति सी राष्ट्रपति ट्रम्पको भू-राजनीतिक समकक्ष हुन् भन्ने छाप छोड्नका लागि अत्यन्त ठूलो कूटनीतिक प्रयास गरेको थियो। यसपटक त्यो दाबी गर्नै नपर्ने अवस्था छ,” वाइन भन्छन्।
वाइनका अनुसार वाशिङटनले अब चीनलाई “नियर-पिअर” — अर्थात् लगभग बराबरको प्रतिस्पर्धी — को रूपमा स्वीकार गरिसकेको छ। उनी चीनलाई “अमेरिकाले आफ्नो इतिहासमा सामना गरेको सबैभन्दा शक्तिशाली प्रतिस्पर्धी” को संज्ञा दिन्छन्। यसपटकको शिखर वार्ता केवल औपचारिकता होइन — यो दुई प्रतिस्पर्धी महाशक्तिबीचको शक्ति सन्तुलनको परीक्षण हो।








