बेलायतमा युवा बेरोजगारी सङ्कट: २०३१ सम्म साढे १२ लाख युवा श्रम बजार बाहिर

लन्डन । बेलायतमा रोजगारी, शिक्षा र तालिमको पहुँचभन्दा बाहिर रहेका युवाहरूको सङ्ख्या १० लाख नजिक पुगेको छ। यसले युवा पुस्तामा चरम ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम निम्त्याएको हालै सार्वजनिक एक प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार तत्काल समस्या समाधानका उपाय नखोजिए सन् २०३१ सम्ममा १६ देखि २४ वर्ष उमेर समूहका १२ लाख ५० हजार युवा शिक्षा, रोजगारी वा तालिम (NEET) बाट वञ्चित हुनेछन्। यो तथ्याङ्क कुल युवा जनसङ्ख्याको अनुपातमा हरेक छ जनामध्ये एक जना हो।

बढ्दो युवा बेरोजगारीको कारण पत्ता लगाउन बेलायती प्रधानमन्त्री केइर स्टार्मरले गत वर्ष एक समीक्षा समिति गठन गरेका थिए। उक्त समीक्षाको नेतृत्व गरेका लेबर पार्टीका पूर्व क्याबिनेट मन्त्री एलन मिलबर्नले बिहीबार प्रतिवेदन सार्वजनिक गर्नुअघि बेलायत ‘लस्ट जेनेरेसन’ (हराएको पुस्ता) को जोखिममा रहेको बताए।

“यो युवाहरूको असफलता होइन, बरु विगतमै अड्किएको एउटा कमजोर व्यवस्थाको असफलता हो,” मिलबर्नले भने।

प्रतिवेदनले बेलायती युवाहरू श्रम बजारको प्रारम्भिक खुड्किलोमै पुग्न सङ्घर्ष गरिरहेको उल्लेख गरेको छ। अचम्मको तथ्य के छ भने, यी १२ लाख ५० हजार बेरोजगार युवामध्ये ८४ प्रतिशत युवा रोजगार वा प्रशिक्षणमा जोडिन इच्छुक छन्।

युवाहरू बाहिरिनुको मुख्य कारण आतिथ्य (हस्पिटालिटी), पार्ट-टाइम वा सप्ताहान्तको रोजगारी र साना उद्यमजस्ता प्रवेश-स्तरका (Entry-level) भूमिकाहरूमा आएको ‘तीव्र गिरावट’ लाई मानिएको छ। मिलबर्नका अनुसार वर्तमान शिक्षा, स्वास्थ्य वा कल्याणकारी प्रणाली युवाहरूलाई श्रम बजारमा स्थापित गराउन असफल भएका छन्।

ब्रिटिश चेम्बर्स अफ कमर्सका महानिर्देशक शेभन ह्याभिल्यान्डले मिलबर्न समीक्षामा उठाइएका मुद्दाहरू लामो समयदेखि व्यवसायहरूले भोग्दै र रिपोर्ट गर्दै आएको बताए। उनले यो प्रतिवेदनलाई रोजगारी, शिक्षा र प्रशिक्षणमा नरहेका युवाहरूको सङ्कट समाधानका लागि नीति निर्माताहरूका लागि एक कडा चेतावनीका रूपमा लिनुपर्नेमा जोड दिए।

यस समस्याको दीर्घकालीन र विस्तृत समाधानका उपायहरू भने यसै वर्षको अन्त्यसम्ममा तय गरिने प्रतिवेदनमा उल्लेख छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x