चितवन। भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आज बिहान आएको बाढीको बहाव चितवन आइपुग्दा घटेको छ। बाढी त्रिशूली नदी हुँदै बिहान ७ बजे मुग्लिन क्षेत्र काटेको थियो।
बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव बाढी आउनुअघिको भन्दा तीनदेखि तीन दशमलव पाँच मिटरसम्म बढेको छ। “आजको बाढी नारायणीमा मिसिएपछि त्यहाँ दुईदेखि दुई दशमलव पाँच मिटरसम्म बहाव बढ्ने अनुमान छ,” कर्मचार्यले भने। नारायणी नदीको देवघाट मापन केन्द्रमा बाढीअघिको बहाव छ मिटर रहेको र सो स्थानमा पानीको बहाव नौ मिटर पुगेपछि मात्र खतरोन्मुख हुने भएकाले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए। यद्यपि पहिलेभन्दा नदीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन उनले आग्रह गरे।








