पाकिस्तान र अमेरिकाबिचको पछिल्लो कूटनीतिक विकासक्रम अनुसार, शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल मङ्गलबार इस्लामावाद आइपुगेको छ। तर, मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले इरानको औपचारिक धारणाको अझै प्रतीक्षा गरिरहेको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत तेहरानसँग निरन्तर सम्पर्कमा रहेको र वार्ताका लागि इरानको औपचारिक स्वीकृतिको पर्खाइमा रहेको जानकारी दिएका छन्।
उनले दुई हप्ताको युद्धविरामको समयसीमा समाप्त हुनुअघि नै इरानले वार्तामा भाग लिने निर्णय गर्नु महत्त्वपूर्ण हुने बताएका छन्। पाकिस्तानले इरानी नेतृत्वलाई दोस्रो चरणको संवादमा ल्याउन गम्भीर कूटनीतिक प्रयास गरिरहेको दाबी गरे पनि इरानले अहिलेसम्म आफ्नो प्रतिनिधिमण्डल पठाउने आधिकारिक पुष्टि नगरेकाले वार्ताको भविष्य अन्योलपूर्ण देखिएको छ।








