काठमाडौँ । देशभरि हाल मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सामान्य स्थानमै रहेको महाशाखाले बताएको छ।
देशभर सामान्यतया बदली रहने र बागमती, गण्डकी लगायत कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेसका एकाध ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हिमाली भू-भागमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा धेरै र लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका पहाडमा केही स्थानमा मध्यम वर्षा हुन सक्छ। तराई क्षेत्र (बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी)मा पनि मेघगर्जनसहितको वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने बुलेटिनमा उल्लेख छ।
देशभर बदली कायम रहने, हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा/हिमपात जारी रहने र मधेस, तराई क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








