ढाका । बंगलादेशको संसद्ले बिहीबार देशको नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्दैछ। सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का महासचिव तथा स्थानीय विकास मन्त्री ७८ वर्षीय मिर्जा फखरुल इस्लाम आलमगीर देशको २३ औँ राष्ट्रपति बन्ने लगभग निश्चित देखिएको छ।
अपरान्ह २ बजे (०८०० जीएमटी) देखि सुरु हुने मतदानमा आलमगीरको प्रतिस्पर्धा जमात-इ-इस्लामी नेतृत्वको ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार ओली अहमदसँग हुँदैछ। संसद्मा बीएनपीको स्पष्ट बहुमत रहेकाले आलमगीर सहजै विजयी हुने अपेक्षा गरिएको छ।
सन् २०२४ को जनआन्दोलनबाट शेख हसिनाको सरकार ढलेपछि गत फेब्रुअरीमा भएको निर्वाचनमा प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा बीएनपीले भारी बहुमत हासिल गरेको थियो। हसिनाका निकट सहयोगी रहेका तत्कालीन राष्ट्रपति मोहम्मद सहाबुद्दिनले स्वास्थ्यको कारण देखाउँदै गत जुलाईमा पदबाट राजीनामा दिएपछि यो पद रिक्त भएको थियो।
आफ्नो उम्मेदवारीबारे बोल्दै आलमगीरले भने, “मैले कहिल्यै राष्ट्रपति बन्ने सोचेको थिएन, यो पार्टी र ईश्वरको असीम कृपा हो। राष्ट्रपति बनेपछि पनि म जनताकै माझ रहेर सेवा गर्न चाहन्छु।”
सन् १९४८ जनवरी २६ मा जन्मिएका आलमगीरले ढाका विश्वविद्यालयमा अर्थशास्त्र पढ्दादेखि नै राजनीति सुरु गरेका थिए। सन् १९६९ को पाकिस्तान विरोधी विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी शिक्षण र सरकारी सेवापछि राजनीतिमा सक्रिय भएका हुन्। यसअघि कृषि तथा नागरिक उड्डयन मन्त्री भइसकेका आलमगीरले हसिनाको शासनकालमा बीएनपी अध्यक्ष खालेदा जिया जेलमा छँदा र उनका छोरा तारिक रहमान निर्वासनमा रहँदा पार्टीलाई संगठित राख्न मुख्य भूमिका खेलेका थिए।
मानवताविरुद्धको अपराधमा ढाकाको अदालतबाट मृत्युदण्डको सजाय पाएकी पूर्वप्रधानमन्त्री हसिना भने हाल भारतमा शरण लिएर बसेकी छन्।








