एडिलेड । अष्ट्रेलियामा पहिलो पटक एक स्तनधारी प्राणीमा एच५ बर्ड फ्लु (H5 bird flu) सङ्क्रमण पुष्टि भएको छ। दक्षिण अष्ट्रेलिया राज्यमा भेटिएको ‘लङ-नोज्ड फर सील’ (एक प्रकारको जलचर प्राणी) मा सो भाइरस फेला परेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।
कृषि, माछापालन तथा वन मन्त्री जुली कलिन्सले दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडभन्दा करिब ३०० किलोमिटर दक्षिणमा रहेको बिचपोर्टमा सो सील भेटिएको बताएकी छन्।
पत्रकारहरूसँग कुरा गर्दै मन्त्री कलिन्सले भनिन्, “दुःखको कुरा, अष्ट्रेलियामा स्तनधारी प्राणीमा एच५ बर्ड फ्लु पुष्टि भएको यो पहिलो केस हो।”
सङ्क्रमित जङ्गली चराचुरुङ्गी वा तिनीहरूको वातावरणको सम्पर्कमा आएकाले सीलमा भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ। हालसम्म अन्य बिरामी वा मृत समुद्री स्तनधारी प्राणीहरूमा यो सङ्क्रमण फैलिएको सङ्केत नदेखिएको कलिन्सले स्पष्ट पारिन्।
हालसम्म अष्ट्रेलियाभर एच५ बर्ड फ्लुका २९८ वटा घटनाहरू दर्ता भइसकेका छन्, जसमध्ये १८३ वटा दक्षिण अष्ट्रेलियामा मात्रै रहेका छन्। अधिकारीहरूका अनुसार अष्ट्रेलियाको कुखुरापालन वा कृषि उत्पादन प्रणालीमा भने एच५ बर्ड फ्लु सङ्क्रमणको कुनै प्रमाण फेला परेको छैन।








