स्ट्रेट अफ होर्मुजमा बढ्दो तनावका बीच इरान र अमेरिका एकअर्का विरुद्ध कठोर रूपमा प्रस्तुत भएका छन्। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार तथा आईआरजीसीका पूर्व कमान्डर मोहसेन रेजाईले इरानको अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म आफ्नो मुलुक पछि नहट्ने चेतावनी दिनुभएको छ। अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा सैन्य नाकाबन्दी घोषणा गरेको र रणनीतिक जलमार्गहरूमा अवरोध सिर्जना गरेको सन्दर्भमा रेजाईको यस्तो प्रतिक्रिया आएको हो। उहाँले इरानले आफ्नो जलक्षेत्रमा हुने आर्थिक र समुद्री गतिविधिमा पूर्ण नियन्त्रण कायम राख्ने स्पष्ट पार्दै विगतका अनुभवका आधारमा अबका सम्झौताहरूमा थप सावधानी अपनाउनुपर्नेमा जोड दिनुभएको छ।
अर्कोतर्फ, संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरू लक्षित गरी नाकाबन्दी सुरु गरेको घोषणा गर्दै यस क्षेत्रमा सैन्य सक्रियता बढाएको छ। अमेरिकी सेन्टकमका कमाण्डर एडमिरल ब्राड कुपरले एक विज्ञप्ति जारी गर्दै अपरेशन सुरु भएको ३६ घण्टाभित्रै अमेरिकी सेनाले आफ्नो उपस्थिति मजबुत बनाउने उल्लेख गर्नुभएको छ। विश्वको तेल आपूर्तिको लाइफलाइन मानिने होर्मुज जलक्षेत्र अहिले दुई शक्तिशाली राष्ट्रको रणनीतिक टक्करको केन्द्रबिन्दु बनेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र क्षेत्रीय स्थायित्वमा गम्भीर प्रश्न खडा गरिदिएको छ।








