सुडान ड्रोन आक्रमण: चार महिनामै ७०० नागरिकको मृत्यु

संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख टम फ्लेचरका अनुसार सुडानमा यस वर्षको जनवरीदेखि हालसम्म भएका ड्रोन आक्रमणमा मात्रै करिब ७०० सर्वसाधारणको मृत्यु भएको छ। तीन वर्ष लामो गृहयुद्धले सुडानमा विश्वकै सबैभन्दा ठूलो मानवीय सङ्कट सिर्जना गरेको उल्लेख गर्दै फ्लेचरले सुडानी सेना र अर्धसैनिक बल (आरएसएफ) बीचको द्वन्द्वका कारण दशौँ हजारको ज्यान गएको र १ करोड १० लाखभन्दा बढी मानिस विस्थापित भएको जानकारी दिनुभयो। डार्फुरसहितका विभिन्न क्षेत्रमा दैनिकजसो हुने ड्रोन हमलाले जनजीवन अस्तव्यस्त बनाउनुका साथै क्षेत्रीय अस्थिरताको जोखिम समेत बढाएको छ। हाल सुडानमा झण्डै ३ करोड ४० लाख मानिसलाई मानवीय सहयोगको आवश्यकता रहेको छ भने भोकमरी र कुपोषणका कारण लाखौँ बालबालिकाको भविष्य संकटमा परेको छ। द्वन्द्वका क्रममा महिला तथा बालिकाहरूले क्रूर यौनजन्य हिंसा भोग्नुपरिरहेको पीडादायी अवस्था सुनाउँदै फ्लेचरले यस वर्ष २ करोड मानिससम्म सहायता पुर्‍याउने लक्ष्य राखिएको बताउनुभयो।

यसैबीच, सुडानका लागि राष्ट्रसङ्घीय आवासीय संयोजक डेनिस ब्राउनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने सहायतामा कमी आएका कारण राहत कार्य असहज भएको बताउनुभएको छ। यही सङ्कटपूर्ण अवस्थालाई मध्यनजर गर्दै शान्ति वार्तालाई पुनर्जीवित गर्न र थप मानवीय सहायता जुटाउने उद्देश्यले बुधबार बर्लिनमा अन्तर्राष्ट्रिय दाता सम्मेलनको आयोजना गरिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x