त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीका कारण विस्थापित बनेका प्रभावितहरूलाई विदुर नगरपालिकाले कोठा भाडाबापत प्रतिपरिवार रु १० हजार नगद उपलब्ध गराउने निर्णय गरेको छ। नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण घर बस्न अयोग्य भएका स्थानीयलाई घर भाडामा लिएर बस्न अनुरोध गर्दै सो रकम दिने निर्णय गरेको हो।
नगरपालिकाले ‘होल्डिङ सेन्टर’को बसाइ छोट्याउन र पुनःस्थापनालाई प्रवर्धन गर्न भाडाबापतको रकमसँगै खाद्यान्न, लत्ताकपडा, भान्साका भाँडावर्तन र सरसफाइका सामग्रीसमेत राहत स्वरूप दिने जनाएको छ। घर भाडामा लिँदा वा दिँदा अस्वाभाविक रूपमा बढी भाडा लिएको पाइएमा कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
यस्तै, होल्डिङ सेन्टरमा बसोबास गरिरहेका अन्य जिल्ला तथा पालिकाका नागरिकहरूलाई सम्बन्धित निकायसँगै समन्वय गरेर व्यवस्थापन गर्न आग्रह गरिएको छ। दीर्घकालीन पुनःउत्थानका लागि तीनै तहका सरकार र सङ्घ-संस्थाको सहकार्यमा अस्थायी आवास निर्माणमा जोड दिइनेछ।
बाढीपछि रोकिएका विदुर नगरपालिकाभित्रका विद्यालयहरूको पठनपाठन भदौ २४ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। पूर्ण रूपमा क्षति भएका र होल्डिङ सेन्टर बनाइएका बाहेकका विद्यालयहरू सञ्चालनमा ल्याइनेछ। विद्यार्थीहरूलाई पोसाक अनिवार्य नगरि पायक पर्ने जुनसुकै विद्यालयमा पढ्न जाने व्यवस्था मिलाइएको छ।
बाढीले संरचना पूर्ण रूपमा नष्ट भएको विदुर–१ स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका १,०५० भन्दा बढी विद्यार्थीका लागि वडा नं ९ स्थित सहरी विकास तथा भवन कार्यालय र जिल्ला विकास समितिको जग्गामा अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिने भएको छ।







