न्यूयोर्क । वेस्ट बैंकमा बढ्दो तनाव तथा गाजा क्षेत्रमा जारी इजरायली आक्रमणका बीच संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी भूभागका सर्वसाधारण, उनीहरूका घरजग्गा र अत्यावश्यक सेवामा पहुँचको सुरक्षा सुनिश्चित गर्न पुनः अपिल गरेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन दुजारिकले उत्तरी वेस्ट बैंकको कुस्रा गाउँमा उद्धार टोली पुगेर प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरेको जानकारी दिएका छन्। सो क्षेत्रमा इजरायली बस्ती विस्तार र आवागमनमा लगाइएको कडा प्रतिबन्धका कारण स्थानीय परिवारहरू घेराबन्दीमा परेका थिए।
दुजारिकका अनुसार युनिसेफको टोलीले त्यहाँका बासिन्दालाई पिउने पानी, खाद्यान्न, औषधि, सरसफाइका सामग्री र बालबालिकाका लागि खेलकुदका सामानहरू पुर्याएको छ। मानवीय मामिला समन्वयसम्बन्धी राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए) ले कुस्रा गाउँका तीन प्यालेस्टिनी परिवारहरू अझै पनि इजरायली सेना र बसोबासकर्ताहरूको बाक्लो उपस्थितिबीच घेरिएर बसेको जनाएको छ।
गाजा क्षेत्रमा निरन्तर भइरहेका हवाई हमला, तोप प्रहार र गोलाबारीप्रति राष्ट्रसङ्घले गम्भीर चिन्ता व्यक्त गर्दै सर्वसाधारणको क्षति भइरहेको प्रति ध्यान आकर्षित गराएको छ।वर्षायाम नजिकिँदै गर्दा गाजामा आश्रयस्थल (पाल) को चरम अभाव हुने चेतावनी दिइएको छ। राष्ट्रसङ्घ र उसका साझेदार संस्थाहरूले हालसम्म ३० हजारभन्दा कम मात्र पालको प्रबन्ध गर्न सकेका छन्, जबकि त्यहाँ कम्तीमा ८० हजारदेखि १ लाख ३० हजारसम्म पालको आवश्यकता रहेको अनुमान छ।
यसैबीच, प्रवक्ता दुजारिकले यो वर्ष गाजा र वेस्ट बैंकमा मानवीय सहायताका लागि आवश्यक पर्ने ४ अर्ब अमेरिकी डलरमध्ये ४० प्रतिशतभन्दा कम मात्र रकम सङ्कलन हुन सकेको पुष्टि गरेका छन्।








