काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका नेपाली आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
गत साउन १४ गते हिमपहिरोमा परेर मृत्यु भएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको पार्थिव शरीरमा मन्त्री पौडेलले बिहीबार माल्यार्पण गरेका हुन्। नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव राजेन्द्र लामाका अनुसार मन्त्री पौडेलले मृतकका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन्।
पाकिस्तानबाट साउन २६ गते नेपाल ल्याइएका शवमध्ये ग्यालु शेर्पा र निमा शेर्पाको शव बौद्धस्थित शेर्पा गुम्बामा राखिएको थियो। किली पेम्बा शेर्पाको शव भने दोलखास्थित घरमा लगिएको थियो। तीनै जनाको शवमा बौद्ध परम्पराअनुसार अन्तिम संस्कारअघि पूजा गरिएको थियो।
ग्यालु शेर्पा र निमा शेर्पाको बिहीबार नै अन्त्येष्टि गरिएको छ। किली पेम्बा शेर्पाको अन्त्येष्टि शुक्रबार गरिने एनएमए महासचिव लामाले बताए। यसअघि सोही दुर्घटनामा मृत्यु भएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’को साउन २१ गते अन्त्येष्टि गरिएको थियो।
हिमपहिरोमा परी मृत्यु भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को शव भने परिवार बेलायतमा रहेकाले त्यहाँ लगिएको छ। दुर्घटनास्थलबाट अझै एक नेपाली आरोहीको शव नेपाल ल्याउन बाँकी रहेको छ।
ब्रोड पिकमा भएको हिमपहिरोमा ६ नेपालीसहित १० जना आरोहीको मृत्यु भएको थियो।








