काठमाडौं, १७ भदौ । प्रतिनिधिसभाले रसुवाको भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
प्रस्तावमा रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाट तथा धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ। बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
विशेष प्रस्तावमा बेपत्ता नागरिकको खोजी, प्रभावितको व्यवस्थापन, घाइतेको उपचार तथा राहत र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ। सभामुख डोलप्रसाद अर्यालले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारलाई आग्रह गरेका थिए।
प्रतिनिधिसभाको बैठक बाढी गएको आठौँ दिनमा बसेको हो। यसअघि राष्ट्रियसभाले पनि भोटेकोशी बाढीसम्बन्धी विशेष प्रस्ताव पारित गरेको थियो।
तस्बिर : ekantipur.com








