रुससँग रणनीतिक साझेदारी र ऊर्जा सुरक्षा बलियो बनाउँदै आसियान राष्ट्रहरू

मनिला । युक्रेन युद्धपछि मस्कोसँगको सम्बन्धमा सावधानी अपनाउँदै आएका दक्षिणपूर्वी एसियाली राष्ट्रहरू (आसियान) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष उच्चस्तरीय संवादको तयारी गरेका छन्। आगामी जुन १७–१८ मा रुसको कजान सहरमा आयोजना हुने आसियान–रुस शिखर सम्मेलनमा क्षेत्रीय नेताहरू सहभागी हुने निश्चित भएको हो। यसै सन्दर्भमा फिलिपिन्सकी विदेशमन्त्री थेरेसा लाजारोले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग कजान सम्मेलनकै विषयमा केन्द्रित रहेर टेलिफोन संवाद गरेकी छन्। मनिलास्थित रुसी दूतावासका अनुसार दुई नेताबीच आसियानसँग रुसको ‘रणनीतिक साझेदारी विस्तार’ गर्ने सम्भावनाबारे समेत विचारविमर्श भएको छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि आसियानका अधिकांश सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र सङ्घको मस्कोविरुद्धको प्रस्तावलाई समर्थन गरे पनि क्षेत्रीय सन्तुलनका लागि रुसलाई आफ्नो ‘संवाद साझेदार’ का रूपमा निरन्तरता दिएका थिए। आसियानभित्र रुस र पश्चिमा देशहरूप्रति मिश्रित दृष्टिकोण रहेको छ, जहाँ फिलिपिन्स जस्ता देशहरू अमेरिकाको निकट मानिन्छन् भने अन्य सदस्यहरूको चीन र रुससँग गहिरो व्यापारिक सम्बन्ध छ। युक्रेन सम्बन्धी मतदानमा भियतनाम र लाओस तटस्थ बसेका थिए भने विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भएपछि फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड र भियतनामले ऊर्जा सुरक्षाका लागि रुसी कच्चा तेल आयात गर्न चासो देखाएका छन्।

यस शिखर सम्मेलनमा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर सहभागी हुने अपेक्षा गरिए पनि युक्रेन युद्धलाई लिएर रुसमाथि प्रतिबन्ध नै लगाएको सिङ्गापुरका नेताको सहभागिता भने अझै निश्चित भइसकेको छैन। हाल आसियान–रुस सम्बन्धको समन्वय गर्ने जिम्मेवारी म्यान्मासँग रहे पनि त्यहाँको सैन्य नेतृत्वलाई सम्मेलनमा सहभागी हुन नदिने सम्भावना बलियो छ। सन् २०२१ को सैनिक ‘कू’ पछि गृहयुद्धमा फसेको म्यान्मालाई आसियानले आफ्ना उच्चस्तरीय बैठकहरूमा प्रतिबन्ध लगाउँदै तल्लो तहका कूटनीतिज्ञलाई मात्र अनुमति दिँदै आएको छ। म्यान्माको सैन्य सरकारले आसियानको पाँचबुँदे शान्ति योजना अनुसार हिंसा नियन्त्रण र राजनीतिक संवाद अगाडि बढाउन नसकेका कारण क्षेत्रीय असन्तुष्टि कायमै रहेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x