काठमाडौँ । उपसभामुख रूविकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने बताएकी छन् ।
दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने भन्दै उनले यस्तो बताएकी हुन् ।
उनले फेसबुकमार्फत् भनेकी छन्, ‘दाइजो लिनु र दिनुमात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो ।’
समाज परिवर्तन, देश विकास र सामाजिक कुरीतिविरुद्ध उभिन चाहनेले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्ने बताएकी छन् ।
व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने उनको भनाई छ ।
आफूले विवाहका निमन्त्रणा पत्रहरू प्राप्त गरिरहेको र तीमध्ये कुनै पनि कार्डमा ‘दहेजमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख गरेको देख्न नपाइएको उनले उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु । कृपया दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं ।’








