क्यान्बेरा । मानव मस्तिष्कमा ‘टाउ’ (Tau) भनिने प्रोटिनको अभावमा अल्जाइमर रोगसँग सम्बन्धित स्मरण शक्तिको ह्रास हुने अस्ट्रेलियाली वैज्ञानिकहरूले पत्ता लगाएका छन्। ‘नेचर कम्युनिकेसन्स’ जर्नलमा प्रकाशित नयाँ अनुसन्धान प्रतिवेदन अनुसार मस्तिष्कमा सम्झनाहरूलाई व्यवस्थित र स्थिर बनाउन यो प्रोटिन अपरिहार्य हुन्छ। यसले कुनै पनि कुराको स्मरणलाई लामो समयसम्म टिकाइराख्न मद्दत गर्छ, यद्यपि प्रारम्भिक सिकाइ वा छोटो अवधिको स्मरणका लागि भने यो आवश्यक पर्दैन। अध्ययनका वरिष्ठ लेखक तथा न्यूरो वैज्ञानिक एसोसिएट प्रोफेसर आर्ने इटनरका अनुसार टाउ प्रोटिन नहुँदा पनि मस्तिष्कमा सम्झनाहरू बन्छन्, तर ती निकै कमजोर र कम टिकाउ हुन्छन्। शोधकर्ताहरूले ‘माउस मोडेल’ (मुसा) मा गरेको परीक्षणबाट यो निष्कर्ष निकालेका हुन्।
अनुधानका क्रममा टाउ प्रोटिनले सम्झनाहरूको भौतिक स्वरूप निर्माण गर्ने ‘एन्ग्राम’ भनिने विशेष मस्तिष्क कोषिकाहरूलाई व्यवस्थित गर्ने र महत्त्वपूर्ण सङ्केतन भण्डारणको समयमा स्मृतिका लागि उपयुक्त स्थान चयन गर्न सघाउने देखिएको छ। यसका साथै यस प्रोटिनले मस्तिष्कभित्र हुने अतिरिक्त वा अनावश्यक ‘हल्ला’ जन्य गतिविधिलाई रोकेर विशिष्ट कोषिकाहरूलाई मात्र स्मृति भण्डारणको जिम्मेवारी सुनिश्चित गर्छ, जसले गर्दा स्पष्ट र लामो समयसम्म रहने स्मृतिको विकास हुन्छ। अध्ययनले ‘फास्फोरिलेशन’ भनिने टाउको सूक्ष्म रासायनिक परिमार्जनलाई एउटा प्रमुख संयन्त्रको रूपमा पहिचान गरेको छ, जसले एन्ग्राम कोषको गतिविधिलाई समन्वय गर्छ। फास्फोरिलेशन भनेको प्रोटिन वा चिनी जस्ता अणुहरूमा ‘फस्फेट समूह’ थपिने वा सर्ने एक जैविक रासायनिक प्रक्रिया हो।
मस्तिष्कको सामान्य कार्यका लागि नियन्त्रित र निम्न-स्तरको फास्फोरिलेशन आवश्यक भए पनि असामान्य रूपमा हुने टाउ फास्फोरिलेशन नै अल्जाइमर रोगको मुख्य पहिचान भएको अध्ययनले देखाएको छ। टाउको यस्तो रोगग्रस्त रूपले नयाँ स्मृति गठन र पुराना सम्झना दुवैमा अवरोध पुर्याउने शोधकर्ताहरूको भनाइ छ। यो निष्कर्षले डिमेन्सिया (बिर्सने रोग) का कारण गुमेको स्मरण शक्तिलाई पुनः सङ्गठित गरी फिर्ता ल्याउने उपचार विधि विकास गर्न सघाउने वैज्ञानिकहरूले दाबी गरेका छन्।








