जेनेभा। गाजा क्षेत्रमा युद्धविराम घोषणा भएको नौ महिना बितिसक्दा पनि प्यालेस्टिनीहरूका लागि कुनै पनि स्थान सुरक्षित नरहेको संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (OHCHR) ले जनाएको छ। जेनेभामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता थामिन अल-खितानले हालैका दिनहरूमा इजरायली सेनाले रिहाइशी भवन, विस्थापितहरू बसेका टेन्ट र भीडभाडयुक्त क्षेत्रहरूमा आक्रमण तीव्र पारेको जानकारी दिए। OHCHR का अनुसार पछिल्लो समय जुलाई १३ देखि २० को अवधिमा मात्रै कम्तीमा ५७ प्यालेस्टिनी मारिएका छन्, जसमा छ बालबालिका र आठ महिला रहेका छन्। मारिएकामध्ये ३४ जना इजरायलले तोकेको “येलो लाइन” भन्दा धेरै टाढा रहेका क्षेत्रमा परेका थिए।
मानव अधिकार कार्यालयले अक्टोबर २०२५ देखि २०२६ अप्रिलको मध्यसम्ममा २८३ महिला तथा बालबालिकासहित ६८५ जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ भने अन्य घटनाहरूको प्रमाणीकरण कार्य अझै जारी छ। इजरायली सेनाले “येलो लाइन” लाई निरन्तर पश्चिमतर्फ सारेर प्यालेस्टिनीहरूलाई झन् साँघुरो क्षेत्रमा घेर्दै लगेको र सो सीमा नजिक देखिने बित्तिकै सर्वसाधारणमाथि गोली प्रहार गर्ने गरेको राष्ट्रसंघले जनाएको छ। आम नागरिकलाई लक्षित गरी गरिने यस्ता आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन, युद्ध अपराध र सम्भावित मानवताविरुद्धका अपराधको चिन्ता बढाएको भन्दै OHCHR ले यस्ता हिंसात्मक गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएको छ।








