बाढीपछि अर्को चुनौतीः प्रभावितको मानसिक स्वास्थ्य

काठमाडौँ, १८ भदौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकमा संक्रामक रोगसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै चिकित्सकले तत्काल स्वास्थ्य सेवासँगै मनोसामाजिक सहयोगमा ध्यान दिन सुझाव दिएका छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. अमित गौलीले बाढी प्रभावित क्षेत्रमा दूषित पानी, अस्वस्थ खानपान र सरसफाइको अभावका कारण झाडापखालालगायत पेटसम्बन्धी रोग तथा श्वासप्रश्वासका समस्या बढ्न सक्ने बताए। बाढीका क्रममा लागेको घाउचोटमा संक्रमणको जोखिमसमेत रहने भएकाले समयमै उपचार आवश्यक हुने उनको भनाइ छ।

बाढीपछि घरबारविहीन भएका, आफन्त गुमाएका तथा लामो समयसम्म तनावमा रहेका नागरिकको मानसिक अवस्थालाई पनि स्वास्थ्य उपचारको प्राथमिकतामा राख्नुपर्ने चिकित्सकको सुझाव छ। प्रभावित क्षेत्रमा मनोपरामर्शदाता परिचालन गरी तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि र आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्नेमा चिकित्सकले जोड दिएका छन्।

दीर्घरोग भएका बिरामीका लागि विपद्को अवस्था थप चुनौतीपूर्ण हुने चिकित्सकले बताएका छन्। मधुमेह, उच्च रक्तचाप, दम तथा क्यान्सरजस्ता दीर्घरोगका बिरामीले नियमित औषधि सेवन गर्न नपाउँदा तथा नयाँ संक्रमण थपिँदा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले उनीहरूको औषधि र उपचार निरन्तरतामा विशेष ध्यान दिनुपर्ने डा. गौलीले बताए।

बाढी प्रभावित क्षेत्रमा ज्वरो वा सामान्य स्वास्थ्य समस्या देखिएपछि जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न चिकित्सकले सुझाव दिएका छन्। जीवनजल, सिटामोल, स्लाइन तथा घाउको ड्रेसिङका आवश्यक सामग्री उपलब्ध गराई स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।

प्रभावित क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा तत्काल विस्तार गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको चिकित्सकले बताएका छन्।

यसैबीच, भोटेकोशी बाढीपछि विभिन्न जिल्लामा ठूलो मानवीय क्षति भएको छ। नेपाल प्रहरीले भदौ १७ गते साँझ सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी १ हजार २२२ जनाको शव फेला परेको छ। तीमध्ये रसुवामा १२७, नुवाकोटमा १५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा १९४ तथा भारतमा भेटिएका १४ शव छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार सोही अवधिमा ४ हजार २१६ जना सम्पर्कविहीन रहेका थिए। विभिन्न निकायको प्रयासबाट करिब ११ हजार ९१३ जनाको उद्धार गरिएको विवरण सार्वजनिक भएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूले नदी किनार, जलविद्युत् आयोजना, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धार गरिरहेका छन्। क्षतिग्रस्त सडक तथा भौतिक संरचना र कतिपय स्थानमा अवरुद्ध सम्पर्कका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest