बाढीपछि सशस्त्र प्रहरीको १५ करोड ५० लाख योगदान, मृतकका परिवारलाई २५ लाख

काठमाडौँ, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सशस्त्र प्रहरी बल नेपालका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने भएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले कर्मचारीको तलबबाट निश्चित दिन बराबरको रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकले १५ दिन, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिन, जुनियर अधिकृतले ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन्।

भदौ १० गतेको बाढीमा बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीको तलबबाट भने रकम कट्टा नगर्ने निर्णय गरिएको छ।

मृतकका परिवारलाई तत्काल २५ लाख

बाढीमा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

यसअन्तर्गत राष्ट्रसेवक कर्मचारीका तर्फबाट १५ लाख, ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला/आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि, २०७९’ अनुसार ५ लाख र ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालन सम्बन्धी मापदण्ड, २०८१’ अनुसार थप ५ लाख रुपैयाँ प्रदान गरिनेछ।

मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी रहेको ऋणसमेत मिनाहा गर्ने निर्णय भएको छ। मृतकका सन्तानलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने व्यवस्था पनि गरिएको छ।

आश्रित परिवार र बाढीबाट प्रभावितलाई थप राहत

बाढीमा परी सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।

बाढीमा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने तथा प्रत्येक मृतक कर्मचारीका आश्रित परिवारबाट एक–एक जनालाई सीपमूलक तालिम प्रदान गर्ने निर्णयसमेत गरिएको छ।

भदौ १० गतेको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ।

त्यस्तै, बाढीबाट प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा एक लाख, घरबारविहीन भएमा एक लाख तथा आंशिक भौतिक क्षति भएका वा घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराउने निर्णय भएको छ।

बैठकले भोटेकोशी बाढीमा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारी, अन्य सुरक्षाकर्मी तथा सर्वसाधारणप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest