लस एन्जलस ।फिफा विश्वकप २०२६ को समूह चरणका अन्तिम खेलहरू निकै रोमाञ्चक मोडमा पुगेका छन्। समूह ‘डी’ को एक नाटकीय खेलमा यसअघि नै बाहिरिसकेको टर्कियेले आयोजक संयुक्त राज्य अमेरिका (युएसए) लाई ३-२ ले स्तब्ध पार्दै प्रतिष्ठा जोगाएको छ। सोफाइ रङ्गशालामा खेलिएको खेलको इन्जुरी समयमा काआन आयहानले निर्णायक गोल गर्दै अमेरिकालाई प्रतियोगितामा पहिलो हारको स्वाद चखाए। टर्कियेका लागि युवा स्टार अर्दा गुलेर र बारिस अल्पर यिल्माजले पनि गोल गरे। हारका बाबजुद अमेरिका यसअघि नै लगातार दुई जितका साथ नकआउट चरणमा पुगिसकेको छ।
यसै समूहको अर्को निर्णायक खेलमा अस्ट्रेलियाले पाराग्वेसँग ०-० को कठिन बराबरी खेल्दै समूहको दोस्रो स्थानका साथ अन्तिम ३२ (राउन्ड अफ ३२) मा आफ्नो स्थान सुरक्षित गरेको छ।
अर्कोतर्फ, समूह ‘ई’ मा ठुलो उलटफेर गर्दै इक्वेडरले बलियो प्रतिद्वन्द्वी जर्मनीलाई २-१ ले पराजित गरी नकआउट चरणको टिकट काटेको छ। पराजित जर्मनी पनि यसअघि नै ६ अङ्कका साथ अर्को चरणमा पुगिसकेको छ।
त्यस्तै, समूह ‘एफ’ मा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३-१ ले हराउँदै मोरक्कोसँगको नकआउट भेट पक्का गरेको छ भने जापानले स्वीडेनसँग १-१ को बराबरी खेल्दै समूहमा दोस्रो स्थान हासिल गरी अघिल्लो चरणको यात्रा तय गरेको छ।








