काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले सिंहदरबार गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार भन्दै नाराबाजीसहित विरोध जनाएका थिए। उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा देखिएको विवादकैबीच सडकस्तरमा पनि असन्तुष्टि प्रकट भएको हो।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै नेविसंघका छ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे रहेका छन्।
नियन्त्रणमा लिइएका उनीहरूलाई भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।








