बेरुत, जेनेभा । इजरायल र हेजबुल्लाहबीच युद्धविराम घोषणा भए पनि लेबनानमा बालबालिकामाथिको हिंसा रोकिएको छैन । विगत सात दिनमा मात्रै लेबनानमा १५ जना बालबालिकाको मृत्यु भएको र ६२ जना घाइते भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार सार्वजनिक गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले यो तथ्याङ्कलाई भयावह भन्दै अन्तर्राष्ट्रिय मानवीय कानुनबमोजिम द्वन्द्वका समयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ । युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लेबनानको जनस्वास्थ्य मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै पछिल्लो एक सातामा कुल ७७ बालबालिका हताहत भएको जानकारी दिए ।
पिरेसका अनुसार विगत सात दिनमा दैनिक औसत ११ जना बालबालिका द्वन्द्वको चपेटामा परेका छन् । प्रभावितमध्ये अधिकांश दक्षिण लेबनानमा भएका हवाई आक्रमणका शिकार भएका हुन् । बिहीबार मात्रै एकै दिन सात बालबालिकाको मृत्यु भएको र ३० जना घाइते भएको युनिसेफले जनाएको छ ।
गत अप्रिल १७ देखि लागू हुने भनिएको इजरायल र इरान समर्थित लेबनानी समूह हेजबुल्लाहबीचको युद्धविराम पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । दुवै पक्षले एक–अर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै आएका छन् । युनिसेफको विवरणअनुसार युद्धविराम घोषणा भएयता लेबनानमा कुल ५५ बालबालिकाको मृत्यु भइसकेको छ भने २१२ जना घाइते भएका छन् ।
युनिसेफले द्वन्द्वरत सबै पक्षलाई युद्धविरामको पूर्ण पालना गर्न र नागरिक तथा बाल पूर्वाधारहरूको संरक्षण गर्न आग्रह गरेको छ ।
अमेरिकी तथा इजरायली कारबाहीमा इरानका सर्वोच्च नेताको हत्या भएपछि हेजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेको थियो । त्यसयता इजरायलले दक्षिणी तटीय सहर टायर लगायतका क्षेत्रमा सर्वसाधारणलाई तत्काल ठाउँ खाली गर्न चेतावनी दिँदै व्यापक हवाई तथा स्थल सैन्य कारबाही तीव्र पारेको छ ।








