विश्वकपमा ५० अर्ब डलरभन्दा बढीको सट्टेबाजी हुने प्रक्षेपण

लन्डन । आगामी फिफा विश्वकपमा विश्वव्यापी सट्टेबाजी (बेटिङ) को कारोबार ५० अर्ब अमेरिकी डलरभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । खेलकुद प्रविधि कम्पनी ‘स्पोर्टराडार’ का सट्टेबाजी विज्ञ ड्यारेन स्मलले एएफपीसँग कुरा गर्दै यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो खेल मेला र सट्टेबाजीको केन्द्र बन्ने बताएका छन् ।

यसअघि कतारमा सन् २०२२ मा भएको विश्वकपको तुलनामा यो राजस्व रकम निकै बढी हो । यसको मुख्य कारण यसपटक प्रतियोगितामा टोलीहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याइनु हो ।

स्पोर्टराडारका प्रबन्ध निर्देशक स्मलका अनुसार पछिल्लो समय सट्टेबाजहरू परम्परागत रूपमा टोलीको जित वा हारमा मात्र केन्द्रित नभई खेलाडीहरूको व्यक्तिगत प्रदर्शन र उनीहरूको ‘सेलिब्रेटी’ छविप्रति बढी आकर्षित हुन थालेका छन् ।

“यसपटक ‘प्लेयर प्रप्स’ (खेलाडीको व्यक्तिगत प्रदर्शन) र ‘बेट बिल्डर्स’ (आफैँले तय गर्ने सट्टेबाजी विकल्प) मा उच्च चासो रहने अनुमान छ,” स्मलले भने, “सट्टेबाजहरूले अब खेलाडीले दायाँ वा बायाँ कुन खुट्टाले गोल गर्छ, कतिवटा पास खेल्छ वा ट्याकल गर्छ भन्ने जस्ता सूक्ष्म कुरामा पैसा लगाइरहेका छन्” ।

बेलायती बुकमकर ‘कोरल’ का जनसम्पर्क प्रमुख डेभिड स्टिभेन्सले पनि यस खेलको विशालताले यसलाई इतिहासकै ठूलो सट्टेबाजी घटना बनाउने दाबी गरे । उनका अनुसार नयाँ र युवा ग्राहकहरू बढी गतिशील सट्टेबाजीका विकल्पहरू खोजिरहेका छन्, जसका कारण ‘बेट बिल्डर’ व्यवसाय तीव्र रूपमा बढिरहेको छ ।

विश्वभरका २५० भन्दा बढी स्पोर्ट्सबुक ग्राहकहरूका अनुसार हालसम्म सबैभन्दा बढी सट्टेबाजी अर्जेन्टिना र फ्रान्सको पक्षमा भएको छ । यद्यपि, ६० वर्षपछि विश्वकप जित्ने लक्ष्यमा रहेको इङ्ल्यान्डमाथि पनि ठूलो रकम दाउमा लगाइएको छ । इङ्ल्यान्ड फ्रान्स र स्पेनपछि तेस्रो दाबेदारका रूपमा रहेको छ । इङ्ल्यान्डले उपाधि जितेमा बुकमकरहरूले ठूलो रकम भुक्तानी गर्नुपर्ने भए पनि व्यवसायको विश्वव्यापी प्रकृतिका कारण एक दशकअघिको जस्तो ठूलो क्षति नहुने स्टिभेन्सले उल्लेख गरे ।

उत्कृष्ट गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ तर्फ फ्रान्सका किलियन एमबाप्पे र नर्वेका एर्लिङ हल्यान्डमाथि अत्यधिक सट्टेबाजी भइरहेको छ । स्मलका अनुसार हालसम्मको कुल टिकट र परिमाणको २० प्रतिशतभन्दा बढी हल्यान्डको पक्षमा परेको छ ।

यसैबीच, न्युजिल्यान्डका स्ट्राइकर बेन वेनको नाममा अप्रत्याशित रूपमा धेरै सट्टा लागेपछि उनी सर्वाधिक गोलकर्ताको शीर्ष १० को सूचीमा अटाएका छन् । बेलायतको चौथो श्रेणीको लिगमा घटुवा भएको ‘पोर्ट भेल’ क्लबबाट खेल्ने वेनमाथि यसरी रकम खनिनुलाई स्मलले “शङ्कास्पद नभई निकै अनौठो” घटनाका रूपमा टिप्पणी गरे ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यस विश्वकपमा खेल हुने भौगोलिक क्षेत्र र समय (टाइम जोन) ले युरोपेली दर्शकका लागि केही कठिनाइ उत्पन्न गर्न सक्ने विज्ञहरूको भनाइ छ । विशेष गरी अमेरिकाको पश्चिमी तटमा हुने खेलहरू युरोपका सट्टेबाजहरूका लागि मध्यरात वा असजिलो समयमा पर्नेछन् । यद्यपि, ब्राजिल लगायतका देशहरू रहेको दक्षिण अमेरिकी क्षेत्रमा भने यो निकै सक्रिय रहने अपेक्षा छ ।

घरेलु टोली अमेरिकाले विश्वकप जित्ने सम्भावना निकै कम (४०–१ को अनुपात) अनुमान गरिएको छ । कोरलका स्टिभेन्सले ठट्टा गर्दै भने, “यदि अमेरिकाले सबै अनुमानलाई गलत साबित गर्दै उपाधि उचालेमा, उत्सवको केन्द्रमा टोलीको कप्तानभन्दा बढी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प देखिने सम्भावना बढी रहनेछ” ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x