२४ घण्टामा १०७ चालक मापसेमा कारबाही; शङ्का लागे १०३ वा १०० मा खबर गर्न प्रहरीको आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने झन्डै साढे १८ सय सवारी चालक २४ घण्टाभित्र कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा सञ्चालित विशेष चेकिङका क्रममा एक हजार ८४१ चालकलाई कारबाही गरिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यो कारबाहीबाट कुल चार लाख ७९ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको छ। कारबाहीमा पर्नेहरूमा सबैभन्दा बढी अन्य विविध कसुरका ८९१ जना र राइड सेयरिङ नियम विपरीत चलाउने १९२ जना छन्। यस्तै रातो बत्ती उल्लङ्घन गर्ने १८३, नो हर्न क्षेत्रमा हर्न बजाउने १४९, तीव्र गतिमा सवारी कुदाउने १२६, मादक पदार्थ सेवन (मापसे) गर्ने १०७, एकतर्फी मार्गमा छिर्ने ७७, फुटपाथमा सवारी चलाउने ७५ र लेन अनुशासन मिच्ने ४१ जना चालकमाथि पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले २४ घण्टाको अवधिमा नियम मिच्नेहरूलाई कानुन बमोजिम कारबाही गरी उक्त रकम राजस्वमा दाखिला गरिएको जानकारी दिए। अधिकारीका अनुसार, “उपत्यकामा २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ८४१ जना चालकहरूलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट जम्मा रकम रु चार लाख ७९ हजार ५०१ राजस्व दाखिला भएको छ।” ट्राफिक प्रहरीले मापसे वा लागुपदार्थ सेवन गरेर सवारी चलाउनु कानुन विपरीत र गम्भीर दण्डनीय अपराध भएको उल्लेख गर्दै यात्राका क्रममा चालकले यस्तो गरेको शङ्का लागेमा तुरुन्तै प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। यात्रुहरूले यस्तो अवस्थामा नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा तत्काल सूचना दिन सक्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x