जनकपुरधाम । महोत्तरीको जलेश्वरमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी समन्वयात्मक बैठक शनिबार सम्पन्न भएको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको बैठकमा दुवै देशका सुरक्षाकर्मीले सञ्चालन गर्दै आएको संयुक्त गस्तीको क्षेत्र थप विस्तार गर्ने र सीमा अपराध नियन्त्रणका लागि घटनाहरूको आपसमा जानकारी आदानप्रदान गर्ने विषयमा सहमति भएको छ। यादवका अनुसार बैठकमा सीमा अपराध नियन्त्रण तथा रोकथाम, लागूऔषध कारोबार नियन्त्रण, सीमा स्तम्भको सुरक्षा, सीमामा हुने अन्य आपराधिक गतिविधि तथा अवैध हातहतियार ओसारपसार नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो।
भारतको सीतामढी जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुलतानियाले दुवै देशका सुरक्षाकर्मी मिलेर सीमामा हुने आपराधिक गतिविधि अन्त्य गर्ने सहमति भएकाले आगामी दिनमा सुरक्षा व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले लागूऔषध ओसारपसार, मानव तस्करी, सीमा सुरक्षा, सीमा स्तम्भ मर्मत तथा बाढी नियन्त्रणलगायतका सामाजिक मुद्दामा पनि छलफल भएको र आगामी दिनमा लागूऔषध नियन्त्रण तथा सूचना आदानप्रदानका लागि विशेष टोली गठन गर्ने विषयमा समेत सहमति भएको जानकारी दिए।
बैठकमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामढीका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुलतानिया र सीतामढीका सुपरिटेन्डेन्ट अफ पुलिस अमित रञ्जनसहितको उपस्थिति रहेको थियो।








