म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको यस आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाएको हो। आयोजना प्रमुख उत्तम पौडेलका अनुसार विद्युत्गृहबाट निस्कने पानी निकासका लागि १,१३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माणको काम थालिएको छ। हाल बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण सम्पन्न नभएकाले म्याग्दी नदीको किनारै किनार १० किलोमिटर पहुँचमार्ग निर्माण गरी बाँधस्थल दोभानसम्म पुर्याइएको छ। सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले टेलरेस खन्ने कामसँगै विद्युत्गृह र मुख्य सुरुङ खन्ने तयारी गरिरहेको छ।
प्राविधिक पक्षअनुसार म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट बालुवा थिग्राउने पोखरीमा पानी सङ्कलन गरिनेछ। उक्त पानीलाई ३,६०० मिटर लामो सुरुङ र ७५० मिटर पाइपलाइनमार्फत ६०७ मिटर उचाइबाट पहाडभित्र रहने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ। ‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर प्रेसर टनेल र ७५७ मिटर पेनस्टक पाइप लगायतका संरचना रहनेछन्। तीनवटा टर्वाइन जडान हुने यस आयोजनाबाट सुक्खायाममा ११७.८२ र वर्षायाममा २६४.४५ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ।
आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा जोड्न बगरदेखि १६.५ किलोमिटर दूरीमा रहेको डाँडाखेत सबस्टेसनसम्म १३२ केभी क्षमताको डबल र मल्टीसर्किट प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढाएको छ। कुल १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट वि.सं. २०८४ चैतभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ। आयोजना व्यवस्थापक प्रमेश थापाले सिभिल ठेकेदार परिचालन भइसकेको र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल ठेकेदार छनोटको चरणमा रहेको जानकारी दिए। यस्तै, मुख्य सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थको सुरक्षाका लागि भैँसीखर्कमा नेपाली सेनाको क्याम्प राख्ने तयारी समेत अन्तिम चरणमा पुगेको छ।








