टोकियो । इरानसँगको शान्ति वार्ता विफल हुने संकेत देखिएसँगै सोमबार एसियाली बजारमा इन्धनको मूल्य उकालो लाग्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो शान्ति प्रस्तावलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै खारेज गरेपछि यो अवस्था सिर्जना भएको हो।
ट्रम्पले भने, “मैले भर्खरै इरानका तथाकथित ‘प्रतिनिधिहरू’को प्रतिक्रिया पढेको छु। मलाई यो मन परेन। यो पूर्ण रूपमा अस्वीकार्य छ।” यस घोषणापछि स्ट्रेट अफ हर्मुजमा थप हिंसा भड्कने र तेल आपूर्तिमा अवरोध आउने आशंका बलियो बनेको छ। हर्मुजको साँघुरो जलमार्गबाट विश्वको एक तिहाइभन्दा बढी समुद्री तेल ढुवानी हुन्छ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले पनि कुनै लचकता देखाएनन्। उनले आइतबार एक्समा लेखे, “हामी शत्रुसामु कहिल्यै झुक्दैनौं र यदि वार्ता वा संवादको कुरा हुन्छ भने यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु हुँदैन।”
ट्रम्पको अस्वीकृतिको खबर सार्वजनिक भएसँगै निक्केई ०.४ प्रतिशत र हङकङको ह्याङ सेङ ०.३४ प्रतिशतले तल झर्यो। तर सियोलको कोप्सी भने चार प्रतिशतले उकालो लाग्यो। जापानी बैंक एमयुएफजीका विश्लेषक लोयड चानले यो गतिरोधले दीर्घकालीन अनिश्चितता निम्त्याउन सक्ने चेतावनी दिए। “दुवै पक्षबीचको फराकिलो खाडलले तनाव छिट्टै घट्ने सम्भावनालाई कमजोर बनाउँछ,” चानले भने। “हर्मुजमा अवरोधहरू बढ्दै जाने जोखिम तेल बजारका लागि निरन्तर भू-राजनीतिक चुनौती हो।”
यसैबीच टोकियोमा निन्टेन्डोको सेयर करिब १० प्रतिशतले गिर्यो। गेमिङ कम्पनीले शुक्रबार यस वर्ष अपेक्षित नाफा नआउन सक्ने चेतावनी दिएपछि बजारले यसरी प्रतिक्रिया जनाएको हो। कूटनीतिक मोर्चामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट चीन जानुअघि जापान र दक्षिण कोरियाको भ्रमणमा छन्। राष्ट्रपति सी चिनफिङसँगको उच्चस्तरीय शिखर वार्ताको तयारी यसरी गरिँदै छ।
बेसेन्ट मंगलबार टोकियोमा प्रधानमन्त्री साने ताकाइचीसँग भेट्ने तयारीमा छन्। जापानले हालै येनलाई सहयोग गर्न बजार हस्तक्षेप गरेको रिपोर्ट आएको छ। सोलमा बेसेन्ट चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने बताइएको छ।
“आर्थिक सुरक्षा राष्ट्रिय सुरक्षा हो,” बेसेन्टले एक्समा लेखे। उल्लेखनीय छ, वासिंटन र बेइजिङले एक वर्षअघि व्यापक भन्सार महशुल युद्ध थालेका थिए। त्यसपछि गत अक्टोबरमा दक्षिण कोरियामा भएको शिखर वार्तामा ट्रम्प र सीबीच एक वर्षे व्यापार युद्धविरामको सहमति भएको थियो।








