वासिङ्टन/तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीका कारण इरानको सैन्य संरचना गम्भीर रूपमा ध्वस्त भएको दाबी गरेका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानको नौसैनिक, वायु र हवाई प्रतिरक्षा प्रणालीमा ठूलो क्षति पुगेको उल्लेख गर्दै शीर्ष सैन्य नेतृत्व लगभग सकिएको बताएका छन्।
ट्रम्पले इरानका दिवङ्गत सर्वोच्च नेता अली खमेनीका छोरा मोजताबा खमेनी सैन्य कारबाहीपछि ‘९० प्रतिशत निष्क्रिय’ अवस्थामा रहेको दाबी गरेका छन्। फेब्रुअरीको अन्त्यतिर भएको हवाई आक्रमणमा मोजताबा गम्भीर घाइते भएको र सोही कारण उनी हालै इरान तथा इराकमा सम्पन्न सार्वजनिक अन्त्येष्टि कार्यक्रममा समेत अनुपस्थित रहेको ट्रम्पको भनाइ छ। साथै, ट्रम्पले फेब्रुअरीको अन्त्यमा अली खमेनीको मृत्यु भएको दाबीलाई पुनः दोहोर्याएका छन्।
सैन्य कारबाहीसँगै अमेरिकाले हर्मुज जलघाँटीमा नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिका अब उक्त जलघाँटीको ‘संरक्षक’ बन्ने र यहाँबाट आवतजावत गर्ने जहाजहरूबाट २० प्रतिशत ‘प्रतिपूर्ति शुल्क’ असुल गरिने जानकारी दिएका छन्। उनको प्रस्तावअनुसार, इरानी जहाज र इरानसँग सम्बन्धित कार्गोको आवागमनमा भने रोक लगाइनेछ।
ट्रम्पको घोषणाप्रति इरानले असहमति जनाएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटीको सुरक्षा गर्ने ऐतिहासिक र कानुनी अधिकार इरानकै भएको दाबी गर्दै २० प्रतिशत शुल्क लिने प्रस्ताव अस्वीकार गरेका छन्। अराघचीले सो शुल्क अत्यधिक भएको टिप्पणी गर्दै इरानले निष्पक्ष रूपमा काम गर्ने जिकिर गरेका छन्।
क्षेत्रीय तनाव उत्कर्षमा पुगेका बेला दुवै पक्षले हर्मुज जलमार्गको नियन्त्रण र सुरक्षालाई लिएर आक्रामक दाबी प्रस्तुत गरिरहेका छन्। हालैका दिनमा दुई देशबीच भएका मिसाइल आक्रमणका घटनाले विश्व ऊर्जा आपूर्तिको प्रमुख केन्द्र मानिने यो मार्गमा थप अस्थिरता बढाएको छ।








