टोकियो । इरानको अर्थतन्त्रलाई एक्ल्याउने अमेरिकी नीतिको विस्तृत विवरण सार्वजनिक हुने पर्खाइमा सोमबार कच्चा तेलको मूल्यमा गिरावट आएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई तेहरानविरुद्धको हालसम्मकै “सबैभन्दा कडा” आर्थिक कदम बताएका छन्।
एसियाली शेयर बजारमा पनि गिरावट दर्ज भएको छ। सामसङ इलेक्ट्रोनिक्सले शेयर बजारमा आएको उतारचढावपछि आफ्नै शेयर फिर्ता किन्न ८० अर्ब अमेरिकी डलर खर्च गरेको घोषणा गरेसँगै दक्षिण कोरियाको कोस्पी सूचक १.४ प्रतिशतले घटेको छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रका लागि यो साता महत्त्वपूर्ण मानिएको छ। विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी नभिडिया (Nvidia) ले आफ्नो आम्दानीको विवरण सार्वजनिक गर्दैछ, जसलाई यस क्षेत्रको सूचकका रूपमा हेरिएको छ।
यसैबीच, चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आफ्ना अन्तर्राष्ट्रिय एआई योजनाहरूका लागि १०.२ अर्ब अमेरिकी डलर बराबरको नयाँ शेयर हङकङमा जारी गर्ने घोषणा गरेको छ।
एसियाली बजारहरूमा टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनको शेयर सूचक घटेको छ भने सिड्नी, जकार्ता र बैङ्ककमा सुधार देखिएको छ। फेसन ब्रान्ड ‘शिन’ (Shein) ले सेप्टेम्बर १ देखि हङकङबाट शेयर कारोबार सुरु गर्ने घोषणा गरे पनि हङकङको बजार सूचक दुई प्रतिशतभन्दा बढीले घटेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने विषयमा थप विवरण दिने अपेक्षा गरिएको छ। मध्यपूर्व युद्ध छैठौँ महिनामा प्रवेश गर्न लाग्दा अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरू र चीनलाई इरानविरुद्धको अभियानमा सामेल हुन आग्रह गरेको छ। कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट’ को मूल्य २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ९२ अमेरिकी डलरमा पुगेको छ।
यसै साता अमेरिकाको ज्याक्सन होलमा हुने केन्द्रीय बैङ्कर, अर्थशास्त्री र वित्त प्रमुखहरूको वार्षिक बैठकतिर पनि लगानीकर्ताहरूको ध्यान केन्द्रित छ, जहाँबाट अमेरिकी मौद्रिक नीतिको दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ।