बेइजिङ। इरान युद्धका कारण सिर्जित परिस्थितिका बीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चार दिने औपचारिक भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार प्रधानमन्त्री सरिफ शनिबार झेजियाङ प्रान्तको हाङझोउस्थित विमानस्थलमा अवतरण गरेका हुन्।
भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। तर, उनीहरूबीच मध्यपूर्वको द्वन्द्वबारे छलफल हुने वा नहुने भन्ने विषयमा चिनियाँ विदेश मन्त्रालयले अहिलेसम्म कुनै आधिकारिक भनाइ सार्वजनिक गरेको छैन। इस्लामाबाद र बेइजिङ दुवैले मध्यपूर्वी तनाव अन्त्यका लागि मध्यस्थताको प्रयास गरिरहेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता रोकिएको बताएका छन्। गत फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणबाट सुरु भएको यो युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ देखि दुई हप्ताका लागि युद्धविरामको घोषणा गरिएको थियो। यो द्वन्द्वले मध्यपूर्वलाई सङ्कटग्रस्त बनाउनुका साथै विश्व अर्थतन्त्रलाई समेत तहसनहस पारेको छ।
अन्तर्राष्ट्रिय कूटनीतिमा बेइजिङ अहिले मुख्य केन्द्र बनेको छ। बितेका दुई हप्तामा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको भ्रमण गरिसकेका छन्। पाकिस्तानी प्रधानमन्त्री सरिफ यो अवधिमा चीन भ्रमण गर्ने तेस्रो उच्च पदस्थ विदेशी नेता हुन्।
यसै साताको सुरुमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भ्रमणका क्रममा ‘साझा चासोका विषयहरू’ मा मात्र छलफल हुने बताएका थिए। प्रवक्ता गुओले मध्यपूर्वमा शान्ति र स्थिरताको शीघ्र बहालीका लागि चीनले पाकिस्तानसँग मिलेर काम गर्ने समेत स्पष्ट पारेका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार: “शान्ति प्रबद्र्धन गर्न र युद्ध अन्त्य गर्न निष्पक्ष र सन्तुलित मध्यस्थताको भूमिका निर्वाह गर्न चीनले पाकिस्तानलाई सहयोग गर्नेछ।”
पाकिस्तान पछिल्लो समय संयुक्त राज्य अमेरिका र इरानबीचको मुख्य मध्यस्थकर्ताको रूपमा अगाडि आएको छ। पाकिस्तानकै अग्रसरतामा गत महिना ऐतिहासिक प्रत्यक्ष वार्ताको आयोजना गरिएको थियो। उक्त वार्ताले दिगो समाधान दिन नसकेपछि अहिले थप वार्ताका लागि पहल भइरहेको छ।