म्याग्दी । म्याग्दीको प्रदेश अस्पताल बेनीमा आज आकस्मिक उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ। बिहान १०ः३० बजे पोखराबाट मुस्ताङतर्फ गइरहेको बस बेनी–गलेश्वर सडकखण्डमा दुर्घटना भएको परिकल्पनामा अस्पतालको आपत्कालीन सेवा क्षमताको जाँच गरिएको हो।
परिदृश्यअनुसार दुर्घटनाको सूचना पाउनासाथ सुरक्षाकर्मी घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल ल्याएका थिए। अस्पतालले साइरन बजाउँदै चिकित्सक तथा आवश्यक जनशक्ति उपचारका लागि तयारी अवस्थामा राखेको थियो।
एम्बुलेन्सबाट घाइते अस्पताल पुगेपछि चिकित्सकले बिरामीको अवस्थाको मूल्याङ्कन गर्दै सामान्य, जटिल र गम्भीर गरी वर्गीकरण गरे। त्यसैगरी बिरामीलाई पहेँलो, नीलो र रातो समूह कक्षमा राखेर प्राथमिकताका आधारमा उपचार अघि बढाइएको थियो। उपचार क्रममा अस्पतालका चिकित्सक तथा नर्सहरू खटिएका थिए भने सुरक्षाकर्मीले बिरामी स्थानान्तरणमा सहयोग गरे।
अभ्यासको क्रममा घटनास्थलमै मृत्यु भएको एक जनाको शव शवगृह पठाइएको र गम्भीर अवस्थाका दुई जनालाई थप उपचारका लागि पोखरा रेफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिइन्। यसैगरी सामान्य अवस्थाका बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीलाई भर्ना गरेर राखिएको दृश्य पनि प्रस्तुत गरिएको थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार दुर्घटना तथा प्राकृतिक विपत्त्का बेला एकैपटक धेरै जटिल अवस्थाका बिरामी आउँदा अस्पतालले कसरी उपचार गर्छ भन्ने वास्तविकता पत्ता लगाउन उद्धार तथा उपचारको कृत्रिम अभ्यास गरिएको हो। उनले यस कार्यक्रमले उद्धारमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एम्बुलेन्स सेवाको प्रभावकारिता तथा अस्पतालको आकस्मिक उपचार व्यवस्थापनका कमीकमजोरी पत्ता लगाउन र सुधार गर्न सहयोग पुग्ने बताए।
आपत्कालीन अवस्थामा प्रभावकारी सेवा प्रवाहको क्षमता परीक्षण र दुर्घटनापछिको उद्धार तथा उपचार प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले यो अभ्यास गरिएको अस्पतालले जनाएको छ।








