क्यानबेरा (अस्ट्रेलिया) । दक्षिण अस्ट्रेलियाको एडिलेडस्थित पाराफिल्ड विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक पाइलट र एक यात्रुले ज्यान गुमाएको स्थानीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।
विमानमा सवार अन्य ११ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य १० जनालाई सामान्य चोटपटक लागेको छ।
विमानस्थलका मुख्य निरीक्षक एन्ड्र्यू म्याक्र्याकेनलाई उद्धृत गर्दै एबीसी न्यूजले जनाएअनुसार उडान भरेको केही समयमै विमानको विमानस्थल नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको थियो। त्यसको केहीबेरमै विमान दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ निस्किएपछि अग्नि नियन्त्रकहरूले वरपरका बासिन्दालाई घरभित्रै बस्न र झ्यालढोका बन्द गर्न आग्रह गरेका छन्। आपतकालीन सेवाका अधिकारीहरूले उद्धार र राहत कार्यका लागि दुर्घटनास्थल वरपरको क्षेत्र खाली गराएका छन्।अस्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोले दुर्घटनाको कारणबारे आधिकारिक अनुसन्धान सुरु गरिसकेको जानकारी दिएको छ।








